Techie IT
३० असोज २०७८, शनिबार

नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश


काठमाडौं ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लव समूहका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रार र नेपाल बार एसोसिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट निजलाई बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ”, आदेशमा भनिएको छ ।

यसअघि, यही माघ १५ गते न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो ।

विप्लब नेकपाका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाकोतर्फबाट हिमा बाँस्तोला सर्वोच्चमा बन्द प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई नख्खुस्थित् एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लागेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्