Techie IT
१० कात्तिक २०७८, बुधबार

मधेश आन्दोलनका दुई शहीदकै शालिक चोरी भयो


महोत्तरी ।
महोत्तरी जिल्लाको जलेश्वर-जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गए राति चोरी भएको छ।

मधेश आन्दोलन २०७२-७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका-११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवै जनाको शालिक गए राति चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

वडा नं ११ र वडा नं ९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५-७ फिट अग्लो बुर्जामाथि राखिएको दुवैजनाको प्रतिमा (शालिक) आज बिहान सो स्थानमा नरहेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताएका छन् । वडाध्यक्ष यादवले गए राति ११-१२ बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार बिहानैदेखि प्रहरी टोली परिचालन गरी शालिकको व्यापक रुपमा खोजतलाश गरिरहेको छ र घटनामा संलग्न व्यक्तिको पनि खोजतलाश भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्