Techie IT
शुक्रबार, मंसीर १२,२०७७

प्रदेश २ मा एकैदिन २ सय ११ जना कोरोना संक्रमित थपिए


जनकपुरधाम, भदौ २
धनुषा जिल्लामा १७ जनासहित सोमबार प्रदेश नं. २ मा सय ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये ५३ जना महिला रहेका छन् । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासन विजय कुमार झाका अनुसार धनुषामा १७, महोत्तरीमा १४, सिरहामा ४, बारामा १ सय ६, पर्सामा २७, सर्लाहीमा १८, रौतहटमा १९ र सप्तरीमा ६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेको छ । कोरोनाबाट रौतहट र धनुषामा १/१ जना गरी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका २ का ३२ वर्षीय पुरुष र धनौजी गाउँपालिकाका ६५ वर्षीय पुरुष छन् ।

एक सातामा धनुषामा चार जनाको मृत्यु : विगत केही दिनदेखि प्रदेश नं. २ को अन्य जिल्लाभन्दा धनुषा जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्नुका साथै मृतकको संख्या पनि बढेको छ । पछिल्लो एक सातामा धनुषामा मात्र चार जनाको मृत्यु भएको छ । सोमबार मात्रै थप धनुषामा थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नंं. ३ बस्ने वर्ष ६५ का पुरुष रहेको प्रादेशिक अस्पतालले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका सो व्यक्तिमा श्वासप्रश्वास, रुघाखोकीजस्ता समस्या रहेकोमा उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पतालका संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिए ।

मृतक साउन ३१ गते अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । दम रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वासमा समस्याका साथै रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर चेक गर्दा मृतक पुरुषमा कोरोनाको पुष्टि भएको थियो । सुरुमा आइसोलेसनमा भर्ना भएकोमा स्वास्थ्य अवस्था बिग्रेपछि आईसीयूमा राखेर उपचार भइरहेकोमा सोमबार मृत्यु भएको हो । योसँगै धनुषामा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या नौ पुगेको प्रदेश नंं. २ का सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

प्रदेश नंं २ मा मात्र कोरोनाका कारणले हालसम्म ४६ जनाको मृत्यु भइसकेको छ । अहिले प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालको सवै आईसीयूसहितका शय्याहरु कोरोनाका संक्रमितले भरिएको छ । पछिल्लो समयमा २५ प्रतिशत संक्रमितमा विभिन्न प्रकारका कोरोनाबाट हुने समस्याहरु देखा पर्न थालेको पनि डा. सिंहले जानकारी दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्