Techie IT
शनिबार, असोज १०,२०७७

बझाङबासीलाई कोरोनाभन्दा बाढीको त्रास


बझाड., भदौ २
यस वर्ष मनसुन सुरु भएयता जिल्लाका विभिन्न बस्तीमा बाढी र पहिरो खस्नथालेपछि यहाँका स्थानीयबासी निकै त्रसित भएका छन् । बाढी र पहिरोको खतरा बढ्न थालेपछि स्थानीयहरु कोरोनाभन्दा बाढी र पहिरोको त्रासमा छन् । दुई साताअघि जिल्लाको केदारस्युँ गाउँपालिकास्थित मल्लेसी गाउँमा पहिरो खस्दा पाँचवटा घर पुरिएर सात जनाले ज्यान गुमाउनुपरेको थियो । सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्गको जालेबगरनजिकै सडक बगाउँदा एक सातायता यातायात सेवा अवरुद्ध भएको छ ।

कालंगा हाइड्रोपावरको सुरुङ खन्दा जमिन हल्लिएको बुंगल नगरपालिका २ दहबगर, बमरलगायत ग्रामीण बस्तीका बासिन्दा पनि पहिरो खस्ने त्रासमा छन् । बाढी र पहिरोले सेती नदीमा निर्माण गरिएको काठेपुल बगाउँदा जिल्लाको तलकोट गाउँपालिका पूर्ण रुपमा सडक सञ्जालबाट वञ्चित भएको छ । पहिरो खस्दा रिठापाटा–जयपृथ्वी नगर–दार्चुला सडकखण्ड पनि अवरुद्ध भएको छ । सेती नदी किनार आसपासका बासिन्दा बाढी आउने त्रासले घर छोडेर अन्यन्त्र बस्दै आएका छन् । जिल्लाका विभिन्न ग्रामीण भेगसम्म जोड्न निर्माण गरिएका शाखा सडकहरू पनि यतिखेर बाढी र पहिरोले अवरुद्ध भएका छन् । विश्वमा फैलिएको कोरोनाभन्दा पनि यतिखेर यहाँका स्थानीयहरु बाढी र पहिरोको त्रासमा छन् ।

जयपृथ्वी नगरपालिका ७ का हंस बोहरा भन्छन्, ‘कोरोना संक्रमण भएपनि निको हुनसक्छ, भएन भने पनि त विस्तारै ज्यान लिन्छ, तर बाढी र पहिरोले तुरुन्त ज्यान लिन सक्छ ।’ यहाँका नदी तथा खोला किनारमा रहेका बस्तीहरुमा बाढी र पहिरोको त्रास देखिएको छ । वर्षा हुँदा उनीहरुले राति जाग्राम बस्नु पर्ने बाध्यता छ । सरकारले बाढी र पहिरोको जोखिममा रहेका बस्तीहरु स्थान्तान्तरण गर्ने योजना ल्याए पनि जिल्लाका जोखिमयुक्त बस्ती सार्न सकिएको छैन । यो समय बाढी र पहिरोलगायतका प्राकृतिक प्रकोपहरुको जोखिम हुने भएकाले सबैलाई सतर्क रहन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्