Techie IT
सोमबार, माघ ५,२०७७

सोलुखुम्बुका सुरक्षा निकायले आइसोलेसन स्थापना गर्ने

हाटबजारमा स्थानीय कृषि उपजमात्र बिक्री गर्न पाइने


सोलुखुम्बु, भदौ २
सोलुखुम्बुमा सुरक्षा निकायले आइसोलेसन सेन्टर स्थापना गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण वृद्धि हुँदै गइरहेको परिप्रेक्ष्यमा स्थानीयस्तरमा उपलब्ध डेडिकेटेड हब हस्पिटल तथा आइसोलेसन सेन्टरहरु अपुग हुनसक्ने परिस्थितिलाई मध्यनजर गरी सम्पूर्ण सुरक्षा निकायहरुले आइसोलेसन सेन्टर स्थापना गर्ने भएका हुन् ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अहिले भएका आइसोलेसनहरु अपुग हुने भन्दै सुरक्षा निकायले सम्बन्धित स्थानमा आइसोलेसन निर्माण गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले जानकारी दिइन् । बैठकले सुरक्षाकर्मीहरुलाई उपचारको लागि आवश्यक पर्ने औषधिजन्य सामान जिल्ला अस्पतालबाट उपलब्ध गराउने, उपचारका लागि ब्यारेकमा रहने सुरक्षाकर्मीहरुलाई आवश्यकताअनुसार जिल्ला अस्पतालका स्वास्थ्यकर्मीबाट उपचार तथा निगरानी गर्ने निर्णय समेत गरेको शाहीको भनाइ छ ।

बैठकले संक्रमणलाई मध्यनजर गरी रोकथाम तथा नियन्त्रणका लागि मास्क वितरण गर्ने, सचेतना अभियान सञ्चालन गर्ने तथा उल्लंघन गरिएको देखिएमा कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी शाहीको भनाइ छ । बैठकले जिल्लामा सञ्चालन भइरहेका हाटबजार तथा भेला हुने स्थानलाई प्रभावकारी व्यवस्थापन गर्ने, साप्ताहिक हाटबजारमा जिल्लामा उत्पादित खाद्यान्न, तरकारी, फलफूल र मासुबाहेक बाहिरबाट ल्याइएको कृषि उपज बिक्रीवितरणमा गर्न नपाउने निर्णय समेत गरेको छ । तरकारीबाट पनि कोरोना सर्ने सम्भावनालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ ।

जिल्लामा कोरोना संक्रमितहरु निको भइसकेको अवस्थामा तराईबाट आउने तरकारीबाट समेत कोरोना भित्रिनसक्ने भएकाले बाहिरबाट आउने तरकारीमा रोक लगाउने निर्णय गरिएको बताइएको छ । साथै प्रशासनले सरकारी कार्यालयबाट प्रवाह हुने सेवाहरुमा पनि न्यूनतम सुरक्षा मापदण्ड अपनाउने समेत निर्णय गरेको छ । जसका लागि सबैले आवश्यक तयारी गर्नुपर्ने निर्णय गरिएको छ । जिल्लामा पहिलो चरणमा सचेतनामूलक कार्यक्रम गर्ने तथा त्यसपछि पनि मास्क लगाउन अटेर गर्नेहरुलाई आर्थिक रुपमा जरिवाना समेत गर्ने निर्णय गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्