Techie IT
बिहीबार, असोज १५,२०७७

नेपालको जलविद्युतमा चार देशको विशेष चासो

‘निजी क्षेत्रले जति बिजुली उत्पादन गरे पनि सरकारले किन्छ’


काठमाडौं, भदौ २
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति अध्यक्ष वर्षमान पुनले जलविद्युत् क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपालको जलविद्युत् क्षेत्रमा विदेशीहरुले पनि धेरै लगानी गर्ने चाहना राखेको भन्दै नेपाली लगानीकर्ताहरुलाई लगानी गर्न मन्त्री पुनले विशेष आग्रह गरेका हुन् । नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पुनले निजी क्षेत्रको लगानी सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै निजी क्षेत्रबाट उत्पादित बिजुली सरकारले खरिद गर्ने र बजारको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले विद्युत् उत्पादन गर्न अनुमति प्रदान गर्ने तर, खरिद सम्झौता (पीपीए) नहुने भन्ने हुनै नसक्ने भन्दै मन्त्री पुनले जति उत्पादन गरे पनि सबै बिजुली सरकारले खरिद गर्ने बताएका हुन् । ‘विद्युत् उत्पादनमा लगानी गर्नुस् भनेर लाइसेन्स दिएपछि पीपीए नगर्ने भन्ने हुँदैन । तपाईंहरु लगानी गर्नुस् । म विश्वास दिलाउन चाहन्छु सरकारले पीपीए गर्छ’, मन्त्री पुनले भने, ‘निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरिद गरेर बजारको व्यवस्था गर्छौँ ।’

मन्त्री पुनले उत्पादित बिजुली देशभित्रै घरेलु बजारमा खपत नभए क्षेत्रीय बजारको व्यवस्था गर्ने प्रतिबद्धता पनि मन्त्री पुनले गरे । स्वतन्त्र ऊर्जा प्रवर्द्धकहरुको संस्था (इपान) ले जलविद्युत्मा निजी क्षेत्रको सात खर्ब लगानी रहेको बताउँदै आएको चर्चा गर्दै मन्त्री पुनले लगानी डुब्न नदिने प्रतिबद्धता जनाएका हुन् । हालसम्म विद्युत् प्राधिकरणले सात हजार मेगावाटको विद्युत् खरिद सम्झौता गरेको र २१ हजार मेगावाटको सर्भे लाइसेन्स जारी भएको जानकारी मन्त्री पुनले दिए । यस्तै, थप सात हजार विद्युत् उत्पादनका लागि लाइसेन्स माग भएको उनको भनाइ छ ।

मन्त्री पुनले व्यवसायीहरुलाई पनि जोखिम मोल्न तयार हुन र आत्मानुशासित बन्न सुझाव दिए । लकडाउनका समयमा समेत चिनियाँ, भारतीय, जापानिज र कोरियन कम्पनीले जलाशययुक्त र नदी प्रवाहमा आधारित ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा दर्शाएको जानकारी मन्त्री पुनले दिए । ‘लकडाउनका समयमा पनि ठूला जलाशययुक्त रन अफ द रिभर आयोजनामा लगानी गर्ने इच्छा देखाएर विदेशी लगानीकर्ता आइरहेका छन्’, मन्त्री पुनले भने, ‘विदेशी कम्पनी लगानीका लागि आइरहेका बेला नेपाली लगानीकर्ता उत्साहित भएर लाग्नुपर्छ ।’

मन्त्री पुनले सार्वजनिक संस्थानहरु पनि नाफामा सञ्चालन हुन सक्छन् भन्ने राम्रो उदाहरण नेपाल विद्युत् प्राधिकरण रहेको चर्चा गर्दै वार्षिक ३४ अर्ब घाटामा गएको प्राधिकरण ११ अर्ब नाफामा जानु राष्ट्रिय गौरवको विषय भएको दाबी गरे । यद्यपि महालेखा परीक्षकको ५७औँ वार्षिक प्रतिवेदनले भने प्राधिकरणमा चरम आर्थिक अनियमितता भएको उल्लेख गर्दै सरकारको सावाँ र ब्याज नतिर्ने एक नम्बरको संस्था भनेर उल्लेख गरेको छ ।

राजनीतिक नेतृत्वको स्पष्ट दृष्टिकोण र व्यवस्थापनको चुस्तताका कारण प्राधिकरण राष्ट्रिय गौरवको संस्थाका रुपमा स्थापित भएको चर्चा गर्दै मन्त्री पुनले आफू करिब १० वर्षअघि अर्थमन्त्री भएका बेला २७ अर्ब घाटामा गएर धराशायी भएको प्राधिकरणलाई पुनर्जीवन दिन सरकारले घाटा व्यहोरेको स्मरण पनि गरे । यद्यपि अझै केही विषयमा सुधारको खाँचो रहेको बताए । ‘राजनीतिक नेतृत्वको स्पष्ट भिजन र व्यवस्थापनको चुस्तताका कारण विगतभन्दा राम्रो गरेका छौँ’, मन्त्री पुनले भने, ‘तर, अझै राम्रो गर्न व्यवस्थापन थप चुस्त बनाउन जरुरी छ ।’

भरपर्दो वितरण, चुहावट नियन्त्रण, स्वदेशमै उत्पादित बिजुली किन्नसक्ने अवस्थामा प्राधिकरणलाई पु-याउने योजनासहित मन्त्रालयले काम गरिहरेको मन्त्री पुनको भनाइ छ । अझै मुलुकका १० प्रतिशत जनता अँध्यारोमा रहेकाले उनीहरुलाई दुई वर्षभित्र विद्युत् पहुँचमा पु-याउन सरकारले काम गरिरहेको उनको भनाइ छ । सेवा पुगेका स्थानमा विद्युत् सेवा भरपर्दो, सुलभ र प्रभावकारी बनाउने दायित्व प्राधिकरणको भएको बताए ।

‘आगामी दुई वर्षमा सम्पूर्ण नेपालीको घरमा उज्यालो पु-याउने संकल्प र प्रतिबद्धता पूरा गर्न तयार छौं’, मन्त्री पुनले भने, ‘त्यसका लागि प्राधिकरणले फ्रन्ट लाइनमा रहेर काम गर्छ ।’ विगतभन्दा राम्रो प्रयत्न भएको र अझ राम्रो गर्नका लागि आन्तरिक व्यवस्थापन, प्रशासनिक चुस्तता र खरिदका व्यवस्थापनहरु चुस्त बनाउन प्राधिकरणले आफैंसँग प्रतिस्पर्धा गरिराखेको उनको भनाइ थियो ।

विकासका लागि विद्युतीय ऊर्जालाई सरकारले ‘ड्राइभिङ इन्टिच्युट’का रुपमा लिएर विद्युत् उत्पादनको क्षेत्रमा आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको मन्त्री पुनको भनाइ छ । कोभिड–१९ महामारीका समयमा समेत प्राधिकरणका कर्मचारीले अग्रभागमा रहेर जनताको सेवा गरिरहेको भन्दै मन्त्री पुनले सबै कर्मचारीको प्रशंसा गरे । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्