Techie IT
२ जेठ २०७८, आईतबार

नेपाल-भारत सम्बन्ध: संवादबाट ‘सकारात्मक सङ्केत’, तर दिल्लीले ‘कूटनीतिक मौन भङ्ग गरेको ठान्नु हतार हुने’


काठमाडौं,भदौ १

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसम्बन्धी सीमा विवादका कारणले नेपाल र भारतबीच राजनीतिक र कूटनीतिक चिसोपन बढेको बेला दुई देशका प्रधानमन्त्रीहरूबीच टेलिफोन वार्ता हुनु र लगत्तै एउटा संयुक्त संयन्त्रको बैठक बस्नुलाई केही नेपाली कूटनीतिज्ञहरूले “सकारात्मक सङ्केत” भनेका छन्।

तर यसैलाई अहिले नै भारतले “कूटनीतिक मौन भङ्ग गरेको” अर्थमा लिनु हतार हुने उनीहरूको भनाइ छ।

कतिपय कूटनीतिज्ञले चाहिँ नेपालले यसलाई सानो कूटनीतिक अवसरका रूपमा लिएर दुई देशबीचको संवाद अघि बढाउन थप पहल गर्नुपर्ने सुझाव दिएका छन्।

केही महिनादेखि बढ्दो नेपाल-भारत तिक्तताबीच प्रधानमन्त्रीस्तरमा भएको कुराकानी र एउटा संयुक्त संयन्त्रको बैठक हुनुलाई दुवै देशमा “लामो संवादहीनताको अन्त्य”का रूपमा चर्चा भइरहेको छ।

नेपाल-भारत संवाद

नेपाल र भारतबीच कूटनीतिक संवादहीनता उत्पन्न भएको भनिएका बेला गत शनिवार भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको थियो।

दुवै देशका परराष्ट्र मन्त्रालयले वक्तव्यमार्फत् उनीहरूबीच भएको संवादलाई पुष्टि गर्दै द्विपक्षीय सहकार्यबारे कुराकानी भएको जनाएका थिए।

ओली र मोदी

दुई प्रधानमन्त्रीबीच कुराकानी भएको दुई दिनपछि सोमवार काठमाण्डूमा नेपाल-भारत परियोजना अनुगमन समिति (नेपाल-इन्डिया ओभरसाइट मेकानिजम) को बैठक भएको छ।

नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेतृत्व गरेको उक्त बैठक अनलाइनमार्फत् (भर्चूअली) गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

भारतीय सहयोगमा सञ्चालित परियोजनाहरूको अनुगमन र प्रगति समीक्षा गर्नका लागि बनाइएको उक्त संयन्त्रको यो आठौँ बैठक भएको बताइएको छ।

‘संवाद निरन्तरताको आभास’

भूतपूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले पछिल्ला दुईवटा घटनाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने आभास पाइएको बताए।

उनले भने, “यसलाई संवाद आरम्भ भएको रूपमा लिन सकिन्छ। …संवादले निरन्तरता पाउने आभास पनि देखिएको छ। आशा गरौँ यो संवादहीनताको अन्त्य र संवाद सुरु भएको अवस्था हो।”

कालापानी

तस्बिरको क्याप्शन,तीन महिनाअघि नेपालले आफ्नो प्रशासनिक र राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीच सीमाविवाद तनाव चुलिएको हो

उनले नेपालले सीमा विवादसहितका विषयमा कुराकानी गर्न भारतलाई पत्राचार गरे पनि उसले उत्तर नदिइरहेका बेला एउटा संयन्त्रको छलफल हुनुले संवादहीनताबाट संवाद सुरु तर्क गरे।

तर यो संवाद “सीमित क्षेत्रमा भएको” उनको मत छ।

यद्यपि प्रधानमन्त्रीहरूबीच कुराकानी हुनु र यो बैठक हुनुले नेपाल र भारतबीच उच्च राजनीतिक र प्रशासनिक तहमा संवाद भइरहेको छ भन्ने देखाउने थापाको बुझाइ छ।

उनले आगामी दिनमा यस्तै किसकिमका बैठकहरूलाई निरन्तरता दिन र ती बैठकहरूलाई बहुआयामिक बनाउन दुवै देशका अधिकारीहरू लाग्नुपर्ने उनको सुझाव छ।

‘आरम्भ बिन्दु’

भूपूर्व परराष्ट्रसचिव मदनकुमार भट्टराई चाहिँ यसलाई भारतले “कूटनीतिक मौन तोडेको” भनी नहाल्ने बताउँछन्।

यसलाई उनी नेपाल र भातरबीच बढ्तो तिक्तता घटाउने “आरम्भ बिन्दु” भएको ठान्छन्।

उनले भने, “यसलाई आरम्भको बिन्दु सम्झेर हामीले काम गर्नुपर्छ। राम्रै सुरुवात हो त्यसलाई अघि बढाउनुपर्छ। यसबाट धेरै उत्साहित हुने भन्दा पनि निरन्तरता दिनुपर्‍यो। प्रचारात्मक भन्दा पनि ठोस प्रतिफल दिने खालका बैठकहरू हुनुपर्‍यो।”

भारतको ७४औँ स्वतन्त्रता दिवसका दिन ओली र मोदीबीचको टेलिफोन संवादलाई भने उनले “कूटनीतिक शिष्टाचार”का रूपमा मात्र लिनुपर्ने बताए।

उनले अहिलेको बैठकले सकारात्मक सन्देश दिने तर यो बैठकलाई मात्र हेरेर नेपाल र भारतको सम्बन्धलाई विश्लेषण गर्नु नहुनेमा जोड दिए।

नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध भएकाले तिक्तताबीच पनि वार्ता र संवादहरू जारी राख्नुपर्ने भट्टराईको सुझाव छ।

भारतले गत वर्ष आफ्नो नक्सामा कालापानी क्षेत्र देखाएपपछि नेपालमा त्यसको विरोध भएको थियो

‘सानो अवसर’

सुशील कोइराला प्रधानमन्त्री हुँदा उनका परराष्ट्र मामिला सल्लाहकार पनि रहेका परराष्ट्र मामिलाविज्ञ दिनेश भट्टराई चाहिँ अहिलेको बैठक र संवादलाई सानो अवसरका रूपमा लिनुपर्ने बताउँछन्।

उनी भन्छन्, “यो सानो अवसरलाई कूटनीतिक चातुर्य देखाएर ढोका खोल्न पनि सकिन्छ। यो अवसरलाई कूटनीतिज्ञले कसरी उपयोग गर्छन् भन्नेमा भर पर्छ।”

“वातावरण बन्ने पनि यस्तै प्रक्रियाबाट हो। हामीले एउटा आयामलाई समातेर फराकिलो बनाएर ढोका खोल्ने वातावरण पनि बनाउन सक्छौँ।”

तर भारतका गतिविधि हेर्दा अहिले नै नेपाल र भारतबीच गहन कूटनीतिक छलफल भइहाल्ने अवस्था भने नरहेको भट्टराईको मत छ।

त्यसैले अहिले नै भारतले “कूटनीतिक मौनता तोडेको” भन्ने ठान्नु हतार हुने उनले बताए।(वीवीसी नेपाली सेवा बाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्