Techie IT
बुधबार, असोज ७,२०७७

सिसाखोलामा पुल नहुँदा सदरमुकाम ओहोरदोहोर गर्दा हिँड्नुपर्ने बाध्यता


सोलुखुम्बु, साउन २०
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ९ र १० का स्थानीय सदरमुकाम आउँदा हिँड्नुपर्ने बाध्याता रहेको छ । नगरपालिकाका यी २ वडाका स्थानीयहरू वडा नम्बर ८ र ९ को सिसाखोलामा पुल नबन्दा हिँड्नुपर्ने बाध्यता भएको हो । यी वडामा सडक निर्माण भए पनि सिसाखोलामा पुल निर्माण हुन नसक्दा यो अवस्थाको अन्त्य हुन नसकेको स्थानीय पेम्बा शेर्पाले जानकारी दिए । सिसाखोलामा पुल नहुँदा सदरमुका सल्लेरी आउनका लागि कुनिखोप हुँदै हिँड्दै आउनुपर्ने अवस्था रहेको वडा नम्बर ९ गोराखानीका स्थानीय पेम्बा रिन्जी शेर्पाले बताए । यस्तो समस्या हरेक वर्ष वर्खाको समयमा यस्तो समस्या हुँदै आएको स्थानीयको भनाइ छ । यो क्षेत्रका स्थानीयलाई सदरमुकाम आउँदा ३ घण्टा लाग्ने गरेको छ ।

सामान्य कामका लागि भन्दा पनि सामान ढुवानीमा बढी समस्या हुने स्थानीयको भनाइ छ । यी दुई वडामा निर्वाचनको समयको अनुसार तीन हजार तीन सय ७३ जना जनसंख्या रहेको छ । आफ्नै सवारीसाधन हुँदा समेत हिँड्नुपर्ने बाध्यता छ । खोलापारिसम्म गाडी आउने र त्यहाँभन्दा माथि मानिसले सामानहरुसमेत बोकेर लानुपर्ने अवस्था रहेको वडा नम्बर १० सोल्नासाका स्थानीय दाबा तामाङले बताए । पुल नहुँदा बर्सेनि यस्तो समस्या भोग्नुपरेको उनको भनाइ छ ।

सिसाखोलामा अहिले बेलिब्रिज निर्माणको काम पनि भइरहेको र अर्को वर्षदेखि समस्या नहुने वडा नम्बर ९ का वडा अध्यक्ष काजी शेर्पाले दाबी गरे । निर्माणको जिम्मा लिएको कम्पनीले असोजसम्म बेलिब्रिज निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको र पुल निर्माणपछि स्थानीयलाई सहज हुने उनको भनाइ छ । आफू पनि हिँड्दै जाने गरेको उनले सुनाए ।

बेलिब्रिज निर्माणका लागि नगरपालिकाको तीन करोड २३ लाख ३० हजार नौ सय ५५ रुपैयाँ ५८ पैसामा ठेक्का सम्झौता भई काम भइहरेको छ । माघमा सम्झौता भएको र अहिले पानीको बहाब बढेकाले काम रोकिएको निर्माणको जिम्मा लिएको दावा निर्माण सेवा कम्पनीका प्रमुख पामा लामाले बताए । यो पुल निर्माणका लागि मंसिरसम्मको समय रहेको र त्यसभन्दा अगाडि नै सक्ने लामाको भनाइ छ । लकडाउनका कारण पनि पुल निर्माणको काममा ढिलाइ भएको उनको भनाइ छ । अहिले एक तर्फको पिल्लर निर्माणको काम सकिएको र अर्कोतर्फको काम पानीको बहाब घट्नेबित्तिकै सुरु हुने उनको भनाइ छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्