Techie IT
बुधबार, असोज ७,२०७७

मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध


काठमाडौं,भाद्र १

अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । बागलुङ खण्डअन्र्तगतको निसीखोलामा खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको हो । केही दिनदेखिको निरन्तरको वर्षाका कारण निसीखोला गाउँपालिकको एक दर्जन बढी स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको राससले जनाएको छ ।

निसीखोलाअन्र्तगत ठूलो पहिरो खसेका कारण शनिबारदेखि लोकमार्ग अबरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए । मध्यपहाडी लोकमार्गअन्र्तगतको निसीखोलामा सडक माथिदेखि खसेको पहिराले पैदल आवतजावत गर्न नसकिने गरी सडक भत्किएको स्थानीय मानबहादुर कार्कीले बताए। उनका अनुसार लोकमार्गको देवीस्थान, खाडु, ढुवाँखोर, जुग्जाखोलालगायतका स्थानमा बस्तीसमेत जोखिममा पर्ने गरी सडक अवरुद्ध भएको छ ।

बुर्तीवाङ बजारदेखि निसीखोला गाउँपालिका–५ को बडावनखोलासम्मको खण्डमा दर्जन बढी पहिरो खसेका कारण लोकमार्ग अबरुद्ध भएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । वर्षाका कारण मध्यपहाडी लोकमार्गले सडक कालोपत्रे गर्ने काम समेत प्रभावित बनेको छ ।

धेरै स्थानमा पहिराले सडक अबरुद्ध हुँदा खुलाउन सकेत कठिन भएको उनको भनाइ छ । लोकमार्ग खुलाउने प्रयास भइरहेको आयोजना प्रमुख थापाले जानकारी दिए । लोकमार्ग अबरुद्ध हुँदा बागलुङ जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम रोल्पा जाने सवारीसाधनहरु बीच बाटोमै अलपत्र परेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्