Techie IT
शनिबार, फागुन १५,२०७७

कोरोनाको हटस्पट वीरगञ्जमा निषेधाज्ञा कडाइ गर्न सडकमा सेना परिचालन


बीरगञ्ज, भदौ १
कोरोनाको हटस्पट बन्दै गएको पर्साको वीरगञ्जमा जारी निषेधाज्ञालाई थप कडाइ गर्न सडकमा सेना परिचालन गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई स्थानीयले अवज्ञा गरेको कारण कोरोना संक्रमणमा वृद्धि भएको भन्दै स्थानीय प्रशासनले आइतबारदेखि सडकमा सेना परिचालन गरेको हो । यता वीरगञ्जवासीले भने स्थानीय प्रशासनको मातहतमा रहेको नेपाल प्रहरी र शसस्त्र प्रहरीले आर्थिक प्रलोभनमा परी सीमाबाट खुलारूपमा सर्वसधारणलाई आवतजावत गर्न छुट गरेपछि वीरगञ्ज कोरोनाको हटस्पट बन्न पुगेको आरोप लगाएका छन् ।

कोरोनाले जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सर्वसाधारण संक्रमित हुने क्रम बढिरहेको छ । त्यस्तै मृत्यु हुनेमा पनि सबैभन्दा बढी पर्साका नै रहेका छन् । पर्सामा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार दुई सय नाघिसकेको छ ।

वीरगञ्जमा नारायणी अस्पतालको मातहतमा रहेको दुईवटा अस्थायी कोभिड अस्पताल सञ्चालनमा छन् । गण्डक अस्थायी कोभिड अस्पतालमा ६९ जना उपचाररत छन् । तीमध्ये १० जना आईसीयूमा छन् । वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा एक सय तीन जना संक्रमित भर्ना भएका छन् । तीमध्ये २६ जना आईसीयूमा छन् । नारायणी अस्पतालको आइसोलेसनमा पाँच जनाको उपचार भइरहेको छ ।

यसबाहेक वीरगञ्जका होटल, धर्मशाला, विद्यालय, निजी अस्पताललगायतमा सञ्चालित सेमी–आइसोलेसनमा दुई सय ३९ जनाको उपचार भइरहेको छ । तीन सय ७४ जना संक्रमित भने होम आइसोलेसनमा छन् । संक्रमितमध्ये ८० प्रतिशत लक्षणसहितका बिरामी छन् । आईसीयूमा राखिएका बिरामीको अवस्था त्यति धेरै जटिल नरहेको बताइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्