Techie IT
शुक्रबार, कात्तिक १४,२०७७

दुधकुण्डसहितका पोखरी तत्काल फुट्ने सम्भावना कम, चोकर्मा ताल फुटेको दश दिनमा पुष्टि


सोलुखुम्बु, भदौ १
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दुधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । साउन २३ गते बिहान दुधकुण्ड पोखरी मुहान भई बग्ने सोलु खोलामा पानीको बहाब बढ्नुको आधिकारिक कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । एउटा ताल फुटेको भए पनि खतरा भने नरहेको प्रहरीको भनाइ छ । ताल फुटेको भन्ने विषयमा त्यस क्षेत्रका चौरी गोठालाहरूले बताए पनि प्रशासनले भने १० दिनपछि मात्र यसको पुष्टि गरेको हो । टोली जान समय लाग्ने भएकाले आधिकारिकरूपमा पुष्टि हुन समय लागेको प्रहरीको भनाइ छ ।

साबिककै अवस्थामा रहेको दुधकुण्ड ताल फुटेको भन्ने कुरा भ्रमपूर्ण रहेको भए पनि सोही तालको २० उत्तरतर्फ रहेको चोकर्मा पोखरी फुट्दा खोलामा पानीको बहाब बढेको प्रहरीले पुष्टि गरेको छ । निरन्तरको वर्षातले पोखरीमा पानीको बहाब बढेको र पश्चिमतर्फ कमजोर रहेको ४ मिटर भाग कटान गरी फुटेको प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिए ।

पोखरी फुटे पनि थप जोखिम भने नरहेको प्रहरीको भनाइ छ । साउन २२ गते रातिका अविरल वर्षाले पानीको बहाब बढेपछि ठूलो आवाजसहित पोखरी फुटेको त्यस क्षेत्रमा रहेका लाक्पा लामाले जानकारी दिए । साउन २३ गते बिहान सोलुु खोला नदिमा पानीको बहाब उच्च भएर बस्ती क्षेत्रमा पसेपछि जोखिम बढेको भन्दै तत्काल स्थलगत अध्ययन गर्न माग गरेका थिए । प्रदेश सांसद तथा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीसहितको टोलीले हेलिकोप्टरबाट स्थलगत अध्ययनमा जाने योजना बनाएको भए पनि मौसम प्रतिकूल हुँदा सफल भएको थिएन । मौसम प्रतिकूलतापछि साउन २८ गते सल्लेरीबाट प्रहरी टोली दुधकुण्ड क्षेत्र प्रस्थान गरेको थियो ।

सदरमुकाम सल्लेरीदेखि ६० कोष उत्तरतर्फ ४५ सय मिटर उचाइमा दुधकुण्ड पोखरी पर्छ भने समुद्र सतहदेखि पाँच हजार छ सय ५० मिटरको उचाइमा चोकर्मा पोखरी पर्छ । उक्त पोखरी फुटेर पानी बग्दा २ वटा चौरी गोठ ३ वटा काठे साँगु बगाएको भए पनि उक्त क्षतिको बारेमा भने प्रहरीले केही पनि खुलाएको छैन । चोकर्मा पोखरीभन्दा माथि कुनै पनि पोखरी नरहेको प्रहरीले जनाएको छ । लामो समयसम्म प्रशासनले यस विषयमा पुष्टि नगर्दा स्थानीयमा त्रास उत्पन्न भएको थियो । प्रहरी टोलीले खतरा नभएको अनुमान मात्र गरेकाले यस विषयमा विज्ञ टोलीले नै अध्ययन गर्नुपर्ने देखिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्