Techie IT
बुधबार, असोज १४,२०७७

एकै दिन १२ हजार बढीको परीक्षण, काठमाडौंमा थपिए एक सय ७२ जना कोरोना संक्रमित


काठमाडौं, भदौ १
काठमाडौं उपत्यकामा एकै दिन एक सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । उक्त तथ्यांकले काठमाडौं उपत्यकामा कोरोना तीव्र रुपमा फैलिँदै गएको देखिएको छ । काठमाडौंमा अब कोरोनाका रोगीहरुलाई अस्पतालमा बेडको अभाव हुने भएको छ । कोरोना संक्रमितहरु घरमा बस्दा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा नगर्ने भएकाले उपत्यकामा संक्रमण फैलिने त्रास पनि बढेको छ ।

अहिले होम आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या चार सय ९७ रहेको छ । आइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार सात सय २४ रहेको छ । वाग्मती प्रदेशका छ जना सङ्क्रमितलाई भेन्टिलेटरमा राखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक सय ७२ सहित थप छ सय ४१ जनामा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार दुई सय ४७ हजार जनामा गरेको पीसीआर परीक्षणबाट छ सय ४१ जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

हालसम्म पाँच लाख १७ हजार नौ सय सात जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त संख्यासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार दुई सय २१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकामा देखिएका थप एक सय ७२ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका एक सय २६, ललितपुरका ३८ र भक्तपुरका आठ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक सय ३४ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १७ हजार तीन सय ३५ पुगेको छ ।यस्तै, कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । पर्सामा एक पुरुष र मोरङमा एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले जानकारी दिए । अहिले विश्व नै कोभिड–१९ महामारीको चपेटामा परेको छ ।

नेपालमा पनि महामारीको नराम्ररी असर परेको छ । पछिल्लो विवरणअनुसार विश्वमा दुई करोड १६ लाख १८ हजार दुई सय ८९ कोरोनाका सङ्क्रमित देखिएका छन् । कोरोनाका कारण हालसम्म सात लाख ६९ हजार नौ जनाको मृत्यु भइसकेको छ । कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक करोड ४३ लाख ३४ हजार तीन सय ३२ रहेको मन्त्रालयले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्