Techie IT
सोमबार, फागुन २४,२०७७

पाँच महिनामा नेपालले ७७ अर्ब विदेशी ऋण लियो

१६ अर्ब ९४ करोड मात्र अनुदान


काठमाडौं ।
नेपालले पछिल्लो समयमा वैदेशिक ऋण धेरै लिनथालेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो पाँच महिना अर्थात् मंसिरसम्म ७७ अर्ब ७२ करोड वैदेशिक ऋण लिन सम्झौतामा हस्ताक्षर गरेको छ । अवधिमा अनुदान सहायता भने १६ अर्ब ९४ करोड मात्र रहेको छ ।

वैदेशिक सहायता प्रतिबद्धताअनुसार ऋण ८२ दशमलव एक प्रतिशत र अनुदान १७ दशमलव नौ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ऋण ७९ दशमलव दुई प्रतिशत र अनुदान २० दशमलव आठ प्रतिशत थियो । चालू आवमा अनुदान रकम घटेर ऋण रकम मात्र बढेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ ।

चालू आवको उक्त ऋण र अनुदानको रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव नौ प्रतिशत बढी हो । अघिल्लो आव २०७६/०७७ मा ऋण र अनुदान गरी ७२ अर्ब २९ करोड रहेकामा चालू आवमा उक्त दुवै शीर्षकको रकम ९४ अर्ब ६६ करोड पुगेको छ ।

अर्थ मन्त्रालयले मंसिर महिनाको अर्थ बुलेटिनमा जनाएअनुसार कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये सडक तथा सुशासन क्षेत्रमा ५७ प्रतिशत, ऊर्जा क्षेत्रमा २९ प्रतिशत, शिक्षा र स्वास्थ्य तथा कोभिड क्षेत्रमा पाँच/पाँच प्रतिशत, कृषि, वन र वातावरण क्षेत्रमा तीन प्रतिशत र पुनर्निर्माण क्षेत्रमा एक प्रतिशत रकम सहयोग भएको छ ।

अर्थ मन्त्रालयका अनुसार मंसिरसम्म २७ अर्ब २४ करोडबराबरको वैदेशिक सहयताको रकम नै लिइसकेको छ । उक्त रकममध्ये २० अर्ब ९१ करोड ८६ लाख ऋणबापतको रकम र छ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ अनुदानबापतको छ । यस अवधिमा संघीय सरकारको कुल तिर्न बाँकी ऋण १४ खर्ब ९१ करोड ५६ लाख रहेको छ । उक्त रकममध्ये आन्तरिकतर्फको ऋण छ खर्ब ७० अर्ब ७४ करोड र वैदेशिक ऋण आठ खर्ब २० अर्ब ८२ करोड पुगेको छ । अर्थ मन्त्रालयका अनुसार आन्तरिक ऋणतर्फको १२ अर्ब २३ करोड ब्याज भुक्तानी भएको छ भने बाह्य ऋणतर्फको सावाँ २९ अर्ब ५६ करोड र ब्याज दुई अर्ब ६२ करोड गरी ३२ अर्ब ५६ करोड रकम भुक्तानी भइसकेको छ ।

वैदेशिक ऋणमा वृद्धि भए पनि विदेशी लगानीका उद्योगहरूको दर्ता भने कमी आएको छ । यसले गत वर्षभन्दा चालू आवमा विदेशीले नेपालको उद्योग क्षेत्रमा लगानी गर्न रुचि नदेखिएको प्रष्ट भएको छ । अघिल्लो आवका मंसिर मसान्तसम्मको तुलनामा चालू आवका मंसिर मसान्तसम्म विदेशी लगानीमा दर्ता भएको उद्योगमा २५ प्रतिशतले कमी आएको छ । चालू आवमा मंसिर मसान्तसम्म एक सय आठवटा विदेशी लगानीका उद्योग मात्र दर्ता भएको छ ।

उद्योगको संख्याको साथै लगानी रकममा पनि कमी आएको छ । अघिल्लो आवको तुलनामा विदेशी लगानीमा दर्ता हुने उद्योगमा लगानी २२ दशमलव नौ प्रतिशतले घटेको हो । चालू आवको मंसिरसम्म २१ अर्ब ११ करोड रुपैयाँ मात्र उद्योग क्षेत्रमा विदेशी लगानी भित्रिएको छ । गत आवको सोही अवधि अर्थात् मंसिर मसान्तसम्म विदेशी लगानीमा एक सय १४ उद्योग दर्ता भएर २७ अर्ब ३८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । कोरोनाको कारण उद्योग क्षेत्रमा लगानी खुम्चिएको अनुमान गरिएको छ ।

करदाताको संख्या बढ्यो
नेपालमा पछिल्लो समयमा करमा दर्ता हुनेको संख्या भने बढेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आवको मंसिर मसान्तसम्म कर प्रयोजनका लागि स्थायी लेखा नम्बर लिने करदाताको संख्या ३६ लाख ४१ हजार तीन सय ५९ पुगेको छ । कात्तिक मसान्तसम्म स्थायी लेखा नम्बर लिनेको संख्या ३५ लाख ७९ हजार चार सय ७७ रहेको थियो ।

मंसिर मसान्तसम्म दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या १४ लाख ५९ हजार दुई, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २१ लाख ७५ हजार छ सय ६६ र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर छ हजार छ सय ९१ पुगेको छ । यस्तै, मूल्य अभिवृद्धि कर अर्थात् भ्याटमा दर्ता भएका करदाताहरूको संख्या दुई लाख ७० हजार पाँच सय दुई पुगेको छ भने अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या एक लाख चार हजार सात सय पुगेको अर्थ मन्त्रालयले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्