Techie IT
सोमबार, फागुन २४,२०७७

जिसाको हाउजिङमा भएको जालसाजीको भित्री रहस्य !


काठमाडौं ।
जिसाको हाउजिङ डेभलपमेन्ट एण्ड कन्स्ट्रक्सन प्रालिको नाउँमा स्युचारटारमा रहेको ५४ रोपनी ११ आना जमिनका मालिक जितेन्द्र बहादुर श्रेष्ठसँग संयुक्तरुपमा बराबरीको आधारमा जग्गा प्लानिङ प्लटिङ गरी बिक्री गर्ने करारनामा गरेका बलराम प्रसाद उप्रेतीले ‘सेटिङ’ मिलाएर श्रेष्ठलाई थाहै नदिई सुटुुक्क जमिन अभिक ज्योतिको नाउँमा रहेको नेपाल जनरल मार्केटिङ प्रालि, रुप ज्योतिको लगानी रहेको होटल मखमली प्रालि, टाट उल्टेको गुण समूहका डिजेन्द्र भनिने राजेन्द्र शाक्य, ललितपुरकै पञ्चरत्न शाक्य, राजेन्द्र शाक्यका छोरा डिप्रश शाक्यलाई बिक्री गरेर बदमासी गरेको थाहा पाएपछि श्रेष्ठले उनीहरूविरुद्ध अदालत गुहारेका छन् । तर अदालतले करारअनुसार गर्नुु, गराउनुु भनी आदेश दिइसक्दा पनि उप्रेतीले राजेन्द्र शाक्यलाई देखाएर श्रेष्ठलाई जमिन फिर्ता दिएका छैनन् । उल्टै राजेन्द्र शाक्यको सहयोगमा स्वामित्व विवाद अदालतमा रहेको जिसाको हाउजिङको बिक्री गरिएको जमिन बैंकमा राखेर करोडौं रुपैयाँ निकालेर खर्च गरिदिएको पाइएको छ ।

बलराम प्रसाद उप्रेती, डिजेन्द्र भनिने गुण समूहका टाटा उल्टेका व्यापारी राजेन्द्र शाक्य र स्याकार कम्पनीका डा. रुप ज्योतिको मिलेमतोमा उक्त क्रियाकलाप भएको हो । जितेन्द्र बहादुुर श्रेष्ठले बलराम प्रसाद उप्रेती र लक्ष्मी पौडेलको नाउँमा नामसारी गरिदिएका थिए । त्यसलगत्तै उप्रेतीले हाउजिङको नाउँमा रहेको ५४ रोपनी ११ आना जमिनमध्ये केही जमिन राजेन्द्र शाक्यको नाउँमा, केही जमिन उनको छोरा डिप्रश शाक्यको नाउँमा, धेरैजसो जमिन होटल मखमली र नेपाल जनरल मार्केटिङलाई बिक्री गरेको पाइएको छ ।

हाउजिङको आधा भाग जमिन लखनउ लुुटको शैलीमा उप्रेती, शाक्य र ज्योति मिलेर खाइदिएपछि न्याय माग्दै अदालत पुुगेको श्रेष्ठले मुद्दा जित्दा पनि आधा हिस्सा पाउनसकेका छैनन् । उक्त गिरोहले जिसाको हाउजिङको जमिन एकबाट अर्को नाममा सार्ने, बैंकहरूसँग ‘सेटिङ’ मिलाएर करोडौँ रुपैयाँ कर्जा लिने, कर्जा लिँदा अन्यत्रको जमिन समेत मिसाएर लिनेजस्ता ‘जालेमाले’ कार्य गरेर जग्गा सहजै फिर्ता नहुने गन्जागोल अवस्था सिर्जना गरेर पीडित श्रेष्ठलाई हायल कायल बनाएर थर्काएर सबै सम्पत्ति सित्तैमा क्वाप्पै खाने प्रपञ्च बनाएको पाइएको छ ।

उक्त काण्डका नाइके बनेका डिजेन्द्र भनिने राजेन्द्र शाक्यले गत ७ गते जितेन्द्र बहादुर श्रेष्ठमाथि आफूहरूबाट नमानेर अन्याय भएको स्वीकारेका छन् । जिल्ला अदालतबाट उनले मुद्दा जितिसकेको र अब उच्च अदालतबाट पनि उनले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

आर्थिक दैनिकको कार्यालयमा नै आएर झण्डै दुई घण्टाको कुराकानीमा उनले जिसाको हाउजिङको भित्री पाटो आफूलाई केही थाहा नभएको भनी पानीमाथिको ओभानो बन्ने प्रयास गरेर सबै बदमासी उप्रेतीले गरेको बताएका छन् । अहिले नै मिलापत्र गरेर श्रेष्ठको भाग फिर्ता दिन उप्रेतीले नमानेको बताए पनि उनले अदालतबाट जितेर आएपछि आफूहरूको लगानी फिर्ता भएपछि जमिन फिर्ता दिने कुरा पनि बताएका छन् । तर जितेन्द्र बहादुर श्रेष्ठमाथि अन्याय भएको कुराचाहिँ स्वीकारेका छन् ।

बोलीचालीमा भद्र र नम्ररुपमा प्रस्तुुत भए पनि उक्त जालसाजी एवं बेइमानीमा राजेन्द्र शाक्य केन्द्र भागमा छन् र बलराम उप्रेतीलाई आफूअनुकूल चलाइरहेका छन् । त्यसैगरी डा. रुप ज्योतिलाई पनि उनले आफ्नै इशारामा चलाइरहेका छन् ।

आफूहरूको बेइमानी र जालसाजीको उक्त घटना राजेन्द्र शाक्य र ज्योतिले आफ्ना कलिला छोराहरू डिप्रश शाक्य र अभिक ज्योतिलाई पनि घिसारेर साझेदार बनाएका छन् । उनीहरूले जालसाजी गरेर किनबेच गरेको ४२ रोपनी जमिनचाहिँ जितेन्द्र बहादुर श्रेष्ठको निवेदनमा अदालतले रोक्का राखेको छ । तर उक्त जिसाको हाउजिङको नामको बाँकी १२ रोपनी ११ आना जग्गा कसको नाममा लगेको छ भन्ने नै पत्ता नलागेको थाहा भएको छ । यहाँसम्म कि, स्युुचारटारमा जिसाको हाउजिङको ठेगाना साँखभन्दा उत्तरमा रहेको नाङलेभारे ४ राखेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्