Techie IT
सोमबार, फागुन २४,२०७७

उद्योगहरूलाई विदेशी लगानीसम्बन्धी छ महिने ‘अल्टिमेटम’


काठमाडौं ।
उद्योग विभागले विदेशी लगानीकर्ताहरूलाई छ महिनाभित्र विदेशी लगानीसम्बन्धी कार्ययोजना स्वीकृत गराई सोबमोजिम विदेशी लगानी गर्नका लागि आग्रह गरेको छ । विभागले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ नियमावली प्रारम्भ हुँदाको बखत सञ्चालनमा रहेको विदेशी लगानी स्वीकृत भएको उद्योगले स्वीकृतिबमोजिम सम्पूर्ण विदेशी लगानी नभित्र्याएको भए नियमावली प्रारम्भ भएको छ महिनाभित्र विदेशी लगानीसम्बन्धी कार्ययोजना स्वीकृत गराई सोहीबमोजिम विदेशी लगानी गरिसक्न विदेशी सम्बन्धित उद्योगलाई निर्देशन दिएको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ नेपाल सरकारबाट स्वीकृत भई पुस २७ गते नेपाल राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको छ । यस्तै नियमावलीअनुरुप विदेशी लगानीकर्ताले स्वीकृत विदेशी लगानी रकमको कम्तीमा ७० प्रतिशत रकम आफूले लगानी गरेको व्यवसायबाट व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ हुनुअघि र बाँकी ३० प्रतिशत रकम त्यस्तो उद्योग वा व्यवसायबाट व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ भएको दुई वर्षभित्र लगानी गरिसक्नुपर्नेछ भने सञ्चालनमा भएको उद्योगको सेयर खरिद गरी लगानी गर्ने विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृत भएको एक वर्षभित्र लगानी गरिसक्नुपर्नेछ ।

अबदेखि उद्योगमा विदेशी लगानी भएमा एक वर्षको समयसीमाभित्र ५ देखि २५ प्रतिशतसम्म लगानी रकम भित्र्याउनुपर्ने व्यवस्था समेत नियमावलीमा गरिएको छ । विदेशी लगानीअन्तर्गत पाँच करोड लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको २५ प्रतिशत, पाँच करोडभन्दा माथि २५ करोडसम्म लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको १५ प्रतिशत, २५ करोडभन्दा माथि एक अर्बसम्म लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको १० प्रतिशत र एक अर्बभन्दा माथि लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको ५ प्रतिशत रकम एक वर्षको समयसीमामा भित्र्याउनुपर्ने हुन्छ ।

नियमावली स्वीकृत भएसँगै यसअघि उद्योगमा आउने ठूलो लगानी प्रतिबद्धताले मूर्त रुप लिनेछ । नेपालको उद्योग क्षेत्रमा अर्बौं विदेशी लगानी प्रतिबद्धता आए पनि रकम नभित्र्याउने समस्याले उद्योग क्षेत्रमा समस्या हुँदै आएको छ । चालू आर्थिक वर्ष ०७७/०७८ को शुक्रबारसम्म विदेशी लगानीकर्ताहरूद्वारा नेपालको उद्योग क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) अन्तर्गत २१ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । विदेशी लगानीकर्ताहरूले विभिन्न प्रकारका एक सय २३ वटा उद्योगलाई सो लगानी विभागबाट स्वीकृति गराएका छन् भने नियमावलीअनुरुप उद्योगको प्रकृति हेरेर अबको एक वर्षभित्र उनीहरूले सरकारले तोकिएबमोजिम रकम भित्र्याउनुपर्ने हुन्छ ।

विभागबाट प्रदान गरिने भिसालगायतका अन्य सेवा सुविधा सिफारिसका लागि लगानी भित्र्याउनुपर्ने प्रोटोकललाई समेत पूरा गर्नुपर्ने हुन्छ । साथै लगानीकर्ताका आश्रित परिवारको सदस्यलाई भिसा सिफारिसका लागि सम्बन्धित मुलुकको अधिकारप्राप्त निकाय वा त्यस्तो मुलुकको नेपालस्थित दूतावास वा कूटनीतिक निकायबाट नाता प्रमाणित भएको कागजात पेश गर्नुपर्नेछ भने त्यसो नगरेको खण्डमा भने भिसा सिफारिस गर्न नसकिने विभागले जनाएको छ । विदेशी लगानीकर्ताहरूले नेपालका ऊर्जाजन्य, कृषि तथा वनजन्य, सूचना प्रविधिजन्य, उत्पादनजन्य, सेवाजन्य, पर्यटन तथा निर्माणलगायतका उद्योगमा लगानी भित्र्याउन पाउँछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्