Techie IT
सोमबार, फागुन २४,२०७७

स्वरोजगारका लागि च्याउ र सिस्नु खेतीमा आकर्षण


मकवानपुर ।
मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् । वैदेशिक रोजगारी र जिल्ला बाहिर रोजगारी गर्नुभन्दा आफ्नै स्थानमा जिल्लाभित्रै व्यावसायिकरुपमा च्याउ र सिस्नुखेती गरी स्वरोजगारीको कार्य महत्वपूर्ण भएको बताइएको छ ।

राससका अनुसार पछिल्लोपटक शिक्षित युवा वर्गसमेत अन्यत्र पेशामा संलग्न नभई व्यावसायिकरुपमै कृषि पेशामा संलग्न हुन थालेका छन् । हेटौँडा उपमहानगरपालिका–६ का स्थानीय एवं व्यवस्थापन सङ्कायमा स्नातक अध्ययनरत प्रकाश पौडेलले स्वरोजगार बन्न च्याउ खेती गर्दै आएका छन् । करीब चार वर्षअघि साथीभाइको सरसल्लाहबाट उत्प्रेरित भई शुरु गरेको च्याउ खेती आज पौडेलको लागि स्वरोजगारका लागि जीविकोपार्जनको उपयुक्त बाटो बन्न पुगेको छ ।

विसं २०७३ मा तीन जनाको संयुक्त लगानीमा तीन वटा टनेलबाट शुरु भएको च्याउ खेती आजसम्म आइपुग्दा ४० टनेलमा विस्तार भएको छ । च्याउका लागि पराल पकाउने ठाउँको व्यस्थापन गरी च्याउखेती गरिँदै आएको छ । थप व्यावसायिकता र युवा वर्गका लागि उदाहरणीय बन्दै गएका उनीहरुले हेटौँडा उपमहानगरपालिका–७ र भीमफेदी गाउँपालिकाको चुनियाँमा च्याउ खेती गरिरहेका छन् ।
उत्पादित च्याउलाई बजारको कुनै समस्या नभएको उनीहरुके भनाइ छ र उत्पादित च्याउ आसपासका क्षेत्रमा बिक्री वितरण हुँदै आएको छ । च्याउको मूल्य प्रतिकेजी रु २०० देखि रु २५० सम्म बिक्री वितरण हुने गरेको पौडेलले बताए । जय श्रीमन्नारायण कृषि फर्म दर्ता गरी व्यवसायलाई अझ थप विस्तार गर्ने उनको योजना रहेको छ ।

बिहान ३ बजे च्याउ टिपेदेखि शुरु हुने पौडेलको दैनिकी साँझ च्याउको पोकामा पानी हालेपछि मात्र सकिन्छ । सहकारी संस्थाबाट ऋण लिएर पौडेलले व्यावसायिक रुपमा च्याउ गर्दै आएका छ । हाल चुनियाँ बजारबाट २० वटा टनेल र हेटौँडा–७ न्यूरेनीबाट २० वटा टनेलबाट च्याउ बिक्री गरिरहेका उहाँले दैनिक चारदेखि पाँच क्विन्टल च्याउ हेटौँडा बजारमा खपत भइरहेको बताए ।

पौडेलका अनुसार आफूहरुले उत्पादन गरेको च्याउ हेटौँडा बजारमा नै खपत भइरहेको छ । च्याउ खेती गर्ने किसान बढ्दै गएमा हेटौँडा बजारले मात्र खपत गर्न नसक्ने उनले बताए । हेटौँडा बजारभन्दा बाहिर च्याउ पुयाउन नसकिएको उनको भनाइ छ । एक दिन बिक्री नहुँदा सबै सामान बिग्रिन्छ । हेटौँडाबाट नजिकको बजार सिमरा, वीरगञ्ज र नारायणगढसम्म च्याउ पुयाउन सकिन्छ, त्योभन्दा टाढा लैजाँदा बिग्रने सम्भावना रहेको उनले गुनासो गरे ।

आफ्नै जिल्लामै दक्ष जनशक्ति भएको खण्डमा जिल्लाकै कोही व्यक्तिले रोजगारी पनि पाउँथे र महँगो शुल्क तिरेर कामदार पनि ल्याउन पर्दैन थियो । इलाम जिल्लाबाट आएका कामदारको समूहले पौडेलको च्याउखेतीमा काम गरिरहेका छन् ।
आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको सुनाउँदै उनले भने, ‘‘ रोजगारीका लागि देशका विभिन्न शहरदेखि विदेशमा भौंतारिने युवालाई गाउँघरमै च्याउ खेती गर्न सल्ला दिन्छु ।’’ उनले च्याउखेती गर्न चाहानेलाई प्रशिक्षणसमेत दिने गरेका छन् । अठ्ठाइस वर्षीय पौडेल आफ्नै उमेरका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् । कृषि कर्मलाई अझ विस्तार गर्दै अरु तरकारी पनि आफ्नो फार्मले उत्पादन गर्ने लक्ष्य रहेको उनको विचार छ ।

बजार विस्तारको लागि दैनिक च्याउ खाँदा हुने फाइदाको बारेमा जनचेतना जगाउन आवश्यक रहेको पौडेलले बताए । उनले रु २५ लाखको लागतमा ४० वटा टनेलमा च्याउ खेती गरेका छन् । उनले भने, ‘‘लगानी ठूलो लाग्ने तर बिग्रियो भने फेरि माथि उठ्न गाह्रो हुन्छ । पहिला त कृषि बीमाको पनि व्यवस्था थियो । अहिले बीमा गर्न जाँँदा बीमा कम्पनी मान्दैनन् ।’’ लगानी गरेअनुसारको प्रतिफल पनि आउँछ तर आफू धेरै खट्नुपर्ने पौडलले बताए । उनले भने, “बिहान ३ बजेदखि राति अबेरसम्म च्याउको स्याहारमा खटिनुपर्ने हुन्छ ।”

“काम गर्ने दक्ष जनशक्तिको पनि जिल्लामा अभाव छ । च्याउको टनेल बनाउने, पोकामा बीउ हाल्ने मानिस बाहिर जिल्लाबाट ल्याउनुपर्ने अवस्था रहेको छ । सरकारले कृषि क्षेत्रमा अनुदान उपलब्ध गराए पनि आफू सो अनुदान रकम लिन हालसम्म पनि सक्षम हुन नसकेको उनले गुनासो गरे ।
नेपालमा च्याउ उत्पादनमा आत्मनिर्भर बनाउन तिनै तह सरकारले आवश्यकताअनुसार कृषि प्रविधि उपलब्ध गराए सहयोग पुग्ने किसानको भनाइ छ । मकवानपुर जिल्लासमेत कार्य क्षेत्र पर्ने कृषि ज्ञान केन्द्र चितवनका च्याउ खेतीको प्रवद्र्धनका लागि विविध कार्य भइरहेको जनाएको छ ।

च्याउ खेतीको समग्र विकासका लागि तथ्याङ्क सङ्कलन र सहयोग कार्य भइरहेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए । उनले शहरी र ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारबाट आएका युवालाई लक्षित गरी कृषि पेशामा लाग्न आवश्यक तालीमसमेत सञ्चालन भइरहेको बताए । यता व्यावसायिकरुपमा गरिने सबै खाले कृषि क्षेत्रलाई प्रवद्र्धनका लागि किसान वर्गलाई आवश्यक तालीम प्रदान गरिने योजना रहेको वाग्मती प्रदेशअन्तर्गत भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारी दिए ।

यसैबीच पछिल्लोपटक जिल्लामा सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् । हेटौँडा–६ को चौगडा र शान्ति टोलका केही युवाले व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेका छन् । रोयल आर्गेनिक एग्रो फर्म एण्ड रिर्सस सेन्टर कम्पनी दर्ता गरी रु ३५ लाखको लागतमा अर्गानिक तरकारी खेती शुरु गरेको बताइएको छ । उनीहरुले विषादीरहित तरकारीमा उपभोक्ताको माग अत्यधिक रहेकाले मौसमी र बेमौसमी तरकारी खेतीसँगै नयाँ प्रजातिका माछापालन, कुखुरापालन तथा बाख्रा फारमसमेत सञ्चालन गरेको सो कम्पनीका अध्यक्ष भरत सापकोटाले जानकारी दिए ।

त्यस्तै जिल्लाको मकवानपुर गाउँपालिकामा व्यावसायिकरुपमा सिस्नु खेती शुरु गरिएको छ । सो गाउँपालिकाको एक युवा कृषक समूहले सुक्रौरामा बाँझो जमीनको झाडी काटेर सिस्नु खेती शुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका–७ का केही युवाले सो खेती गरेका हुन् ।

गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले करीब एक बिघा जमीनमा सिस्नुको गानोसमेत रोपिएको जानकारी दिए । उनले व्यावसायिकरुपमा सिस्नु खेती गर्न चालु आवमा रु एक लाख अनुदान दिएको जानकारी दिए । सफल भएमा थप सहयोग दिइने उनले बताए। किसानले सिस्नोको धुलो बिक्री गर्ने लक्ष्य रहेको र यो मकवानपुरमा स्थानीय कृषक मानबहादुर मुक्तानले समूहसँग मिलेर सिस्नु पिस्ने मेशिन पनि खरीद गरेको जानकारी दिए । उत्पादित सिस्नुको धुलो व्यवसायका लागि बिक्री हुने उनले बताए ।

हेटौँडा उपमहानगरपालिका–६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंले त्यस कम्पनीको स्थलगत निरीक्षणसमेत गरेको थिए। युवा पुस्ता आफ्नै जिल्लामा कषि व्यावसायिक कार्यमा लाग्नु उदाहरणीय भएको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच हेटौँडा उपमहानगरपालिकाले पनि वैदेशिक रोजगारीबाट फर्किएका युवा कृषि पेशामा लागेमा त्यसका लागि बजेट विनियोजन भएको जनाएको छ । साथै हेटौँडामा रहेको बाँझो जमीन खेतीको रुपमा प्रयोग भएमा रकमको व्यवस्था भएको प्रमुख हरिबहादुर महतको भनाइ छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्