Techie IT
शनिबार, असोज १०,२०७७

यी औषधी र उपकरण आफ्नै घरमा भए अतिउत्तम !


काठमाडौं,साउन ३२ ।
स्वास्थ्यमा तत्काल केही परिहालेमा डाक्टरकहाँ पुगिहाल्न सकिन्न र जरुरी पनि हुँदैन । उपचारका कतिपय औषधी र उपकरण आफैंले चलाउन जान्नु बेश हुन्छ । तर पूर्ण ज्ञान हुनुपर्छ । त्यस्ता औषधी र उपचार साधन मेरो अनुभवका आधारमा–
१. पुनर्जलीय औषधी : जनजिब्रोको शब्दमा ‘जीवनजल’ । यसले शरीरको ‘इलेक्ट्रोलाइट’ भन्ने तत्वलाई सन्तुलनमा राख्छ । सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फस्फेट यसमा हुन्छन् । अत्यधिक गर्मी भएर निकै पसिना गएको अवस्था, पखाला वा धेरै वान्ता भएर जलअल्पता (डिहाइड्रेसन) को अवस्था, खेलकूद र शारीरिक श्रम अत्याधिक भएको अवस्थामा विचार गरेर यस्तो पेय पदार्थ लिनु राम्रो ।
२. ‘पारासिटामोल’ चक्की : ज्वरो आउँदा वा शरीरको कुनै भागमा दुख्दा उपयोगी । साना नानीहरूका लागि झोल रुपमा र बयस्क, अलि ठूला बच्चा वा किशोरावस्थाका लागि चक्कीका रुपमा ।
३. पाचक औषधी : पेट ढुस्स फुल्ने, खाएको नपच्ला जस्तो हुने, वाकवाकी लाग्ने, डकार आउने वा अपानवायू जाने आदि, प्रायः भोजबाट फर्केपछि पेटको असजिलो र अजीर्ण अवस्था उत्पन्न भएमा पाचनक्रियालाई ठीक गर्ने । आयुर्वेदिक पाचक चक्की वा पाउडर, ‘पुदिन हरा’ चक्की आदि उपलब्ध ।
४. एन्टीसेप्टीक क्रिम : ‘बोरोलिन’ ‘बोरोप्लस’ ‘बर्नोल’ जस्ता व्यावसायिक नामबाट बेचिने, सानातिना घाउ–चोट, काटेको, आगोले पोलेको वा तातो भाँडाले डामेको, किराले टोकेको आदि समस्यामा एन्टीसेप्टिक क्रिम (मलम) उपयोगी । ‘नियोमाइसिन’, ‘पोलिइक्सिन बी’ सल्फेट, ब्यासिट्रेसिन जिंक आदि तत्व भएका मलमहरू उपयोगी हुनसक्छन् । फ्लुराईड भएको टुथपेस्ट पनि सानोतिनो पोलेको ठाउँमा लगाउँदा आराम हुने ।
५. एन्टिसेप्टिक औषधी : १९३६ मा आविष्कार भएको डेटोलजस्ता शरीरको बाहिरी भागमा उपयोग गरिने एन्टिसेप्टीक औषधी । यस्ता एन्टिसेप्टिक औषधीमा क्लोरोजाइलेनल जस्ता सेप्टिक प्रतिरोधी रासायनिक तत्व मूख्य रुपमा हालिएको हुन्छ । घाउ–चोट सफा राख्न र ब्याक्टेरिया संक्रसमित हुन नदिन, घरका भुईँ वा भित्तामा पनि आवश्यकताअनुसार उपयोग गर्नसकिने ।
६. टाँसिने ब्याण्डेज : ससाना घाउ–चोट, काटेको स्थानलाई ब्याक्टेरियाबाट जोगाउने, फोहोर र थप क्षति हुनबाट जोगाउँने र घाउ निको हुने प्रक्रिया सहज बनाउने । यस्ता धेरैजसो ब्यान्डेजमा एन्टिसेप्टिक तत्व पनि राखिएको हुन्छ । ‘एडहेसिभ ब्याण्डेज’ ‘स्टिकिङ् प्लास्टर’ ‘ल्युकोप्लास्ट’ आदि भनिने ।
७. कपास, क्रेप ब्याण्डेज तथा अन्य : घाउ–चोट वा खटिरा सफा गर्न र घाउमा औषधी लगाएर छोप्न चाहिने मेडिकल प्रयोजनको कपास । शरीरको मर्केको भाग, खासगरी जोर्नीमा आरामको लागि बाँध्ने एकप्रकारको तन्किने सुख्खा ब्याण्डेज, जसलाई ‘क्रेप ब्याण्डेज’ भनिन्छ, घरमै राखिरहेमा अतिराम्रो !
८. पोटास, क्लोरिन, कार्बोलिक साबुन आदि : चल्तीको भाषामा ‘पोटास’ (वैज्ञानिक नाम ‘पोटासियम परमानागेनेट’) आफैँमा विषादि, रासायनिक वस्तु खानेपानीमा हाल्न वा बजारबाट ल्याएका तरकारी फलफुलका हानिकारक ब्याक्टेरिया मार्न अत्यन्त उपयोगी । पोटासको एउटा कण शरीरमा कतै पर्यो भने पनि त्यसले सो ठाउँमा क्षति गरेको देखिन्छ । पोटास ५० देखि ७५ डिग्री फरेनहाइटको तापक्रमको पानीमा मात्र एकदमै कम हालिने । पोटास हालिएको पानीले लुगा धोयो भने लुगाको रंग बिगार्छ । क्लोरिन भनिने अर्को रासायनिक वस्तुद्वारा गरिने खानेपानीको शुद्धता प्रक्रिया जसलाई ‘क्लोरिनेशन सिस्टम’ भनिन्छ, का लागि क्लोरिनका चक्की वा तरल रुप जे भए पनि घरमा राख्न उपयोगी ।
९. कार्बोलिक साबुन : फोहोरमा काम गर्नुपर्ने, लूतो, घाउ–खटिरा आदि लागेका मानिसहरूको लागि कार्बोलिक एसिड र क्रेसाइलिक एसिडयुक्त विशेष साबुन, जो सँधै उपयोग हुँदैन । तर चाहिन्छ ।
१०. फिनेल तथा अन्य कीटनाशक औषधी : विशेषगरी गर्मी याममा हुने संक्रमण वा महामारीको रोकथामका लागि फिनेल छर्नु उचित हुन्छ । झिँगा वा सांग्ला मार्ने विषादि पनि चाहिन्छ । बिहानको खाना खाइसकेपछि र नानीहरू स्कूल गइसकेपछि खानेकुरा राम्ररी छोपछाप गरेर मात्र चलाउनु उपयुक्त हुने ।
११. पानी–ब्याग : जाडो याममा शरीरलाई तातोपानीले सेक्न रबरको ‘हट वाटर ब्याग’ घरमा हुनु राम्रो । बुढाबुढी बच्चाबच्चीको ओछ्यानमा त झन् राम्रो ।
१२. थर्मामिटर, रक्तचाप मापक आदि : ज्वरो नाप्नको लागि थर्मामिटर, घरमा धेरैजना रक्तचापका बिमारी भएमा र रक्तचाप मापक घरैमा हुनु चलाउन जान्नु क्या राम्रो ! आजकाल यस्ता वस्तु डिजिटल प्रविधिमा पाइने र चलाउन पनि सजिलै छन् ।
१३. तौलिने यन्त्र : शरीरको तौल तोकिए जति राख्नुपर्ने हुनाले तौलिन यन्त्र (Weighing Machine) आवश्यक नै हुन्छ ।

क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्