Techie IT
१९ मंसीर २०७८, आईतबार

अवैध लागूऔषध सहित ११ जना पक्राउ


काठमाडौं ।

काठमाडौं, मोरङ, कपिलवस्तु र सिरहाका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित होटेलबाट १ किलो १ सय ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-४ राकसखोला ठेगाना भएका ४५ वर्षीय तिर्थ बहादुर गोले र भोजपुर टेम्केमैयुङ् गाउँपालिका-८ लेखर्क ठेगाना भएका ३० वर्षीय प्रकाश सुयल रहेका छन् । लागूऔषध कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाट बस्ने ७३ वर्षीय प्रेम कुमार श्रेष्ठ र सोही नगरपालिका-५ परेवाखोपी बस्ने ६५ वर्षीय देवी प्रसाद सिलवाललाई करिब ९ सय ५० ग्राम अवैध लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले श्रेष्ठको घरबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा र सिलवालको घरबाट ४ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरीमोरङको बिराटनगर महानगरपालिका-१० शान्ति चोकबाट करिब ४ ग्राम ५ सय ९० मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार साँझ लागूऔषध नियन्त्रण व्यूरो शाखा बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-६ बस्ने २२ वर्षीय धर्मेन्द्र रजक र भारत अररिया पिपराघाट बस्ने २२ वर्षीय मोहम्द अफरोज रहेका छन् ।

यसैगरी मोरङकै उर्लाबारी नगरपालिका-६ स्थित ईभन भ्याली होटलबाट करिब १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित रतुवामाई नगरपालिका-१० बस्ने २७ वर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ्ग गाउँपालिका-३ बस्ने २० वर्षीया कबिता लिम्बलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तुको बाणगंगा न.पा. ६ सुठौलीबाट करिब १ ग्राम १ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र नगद ६६ हजार ६ सय ३५ रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ बस्ने ४२ वर्षीय पारस बिक र उनकै श्रीमती ३७ वर्षीया आरती बिक रहेका छन् . लु.५ प ५६८६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

सिरहाको लहान नगरपालिका-१२ भोटिया टोलस्थित सडकबाट करिब ९ सय २० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो दखिने खैरो पदार्थ र २ थान मोबाइल सहित लहान नगरपालिका-१२ भोटिया टोल बस्ने २६ वर्षीय राजाराम चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स.१० प १५८९ नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्