Techie IT
१९ मंसीर २०७८, आईतबार

आगलागीबाट करिब १ करोड ३ लाख बराबरको धनमाल जलेर नष्ट


काठमाडौं ।

पाँचथर, भक्तपुर, प्युठान, कपिलवस्तु, नुवाकोटका विभिन्न स्थानमा भएको आगलागीबाट करिब १ करोड ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाँचथरको कुम्मायक गाउँपालिका-१ ओखलढुङ्गा बस्ने कृष्ण थापाको गोठमा आइतबार दिउँसो आगलागी भई सोही ठाउँस्थित ३ वटा घर र ४ वटा गोठमा समेत आगो फैलिएर आगलागी हुँदा नगद ४ लाख ५० हजार रुपैयाँ, ४ तोला सुन, ३० तोला चाँदी समेत जलेर करिब ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका-६ पाण्डुबजारस्थित सोही ठाउँ बस्ने भोज बहादुर घिसिङको मासु पसलमा करेन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा सोही ठाउँमा रहेको अन्य पसलहरुमा समेत आगलागी हुँदा मासु पसल पूर्णरुपमा, फर्निचर, चिया, फेन्सी कपडा पसलहरु आंशिक रुपमा जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्युठानको स्वर्गद्धारी नगरपालिका-१ भन्ज्याङ बस्ने रुक बहादुर पुनमगरको गोठ र सोही ठाउँ बस्ने मोहनलाल पुनमगरको घरमा बच्चाहरुले आगो खेलाउने क्रममा आइतबार दिउँसो आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका-७ घेरुवा वनगाई बस्ने रामु भुषालको घरको कोठामा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा कोठामा रहेको फर्निचार तथा विभिन्न सरसामान जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नुवाकोटको सूर्यगढी गाउँपालिका-३ टहरेचोक बस्ने ७० वर्षीय जनकनाथ सापकोटाको बागेश्वरी कृषि फर्ममा परालमा आगो सल्किएर आइतबार राति आगलागी हुँदा नगद ५० हजार रुपैयाँ र फर्म पूर्णरूपमा जलेर करिब १० लाख रुफैयाँ बराबरको धनमाल नष्ट भएको छ । दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्