Techie IT
बुधबार, मंसीर १७,२०७७

संक्रमण रोक्न दोलखामा लकडाउन


दोलखा, साउन ३२
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दोलखामा शनिबारदेखि लकडाउन गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिकामा केही दिनअघि दुई जनामा कोरोना संक्रमण भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङले थप ५ जनामा कोरोना संक्रमण भेटिएपछि जिल्लामा लकडाउन गरिएको हो । जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले शनिबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । जिल्लामा कोरोना संक्रमणको त्रास बढेसँगै यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ ।

लकडाउनको अवधिमा अनावश्यक घरबाट बाहिर निस्कन तथा सबै प्रकारका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयबाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय भएको छ । यस्तै जिल्लाभर बजार पूर्णरूपमा बन्द गर्ने तर अत्यावश्यक वस्तु बिक्री गर्ने खाद्यान्न, दुध तथा तरकारी बिक्री गर्ने पसलहरू भने बिहान १० बजेसम्म खोल्न पाइनेछ । दोलखामा हालसम्म तीनवटा स्थानीय तहहरू भीमेश्वर नगरपालिका, कालिन्चोक गाउँपालिका र गौरीशंकर गाउँपालिकाभित्रका ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सबैभन्दा बढी गौरीशंकर गाउँपालिकामा ९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।

दोलखामा हालसम्म पाँच सय ३२ जनाको पीसीआर परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । उनका अनुसार दोलखामा कोरोना जितेर घर फर्किनेको संख्या ३ रहेको छ भने एकको मृत्यु भएको छ । जिल्लालाई लकडाउन गरिएको घोषणा गरेसँगै शनिबार दोलखा बजार क्षेत्र सुनसान देखिएका छन् । गाउँदेखि सदरमुकामसम्म चल्ने यातायातका सवारी गाउँ तथा सहरमै रोकिएका छन् । जिल्लाको सिंगटी बजार शुक्रबारदेखि नै बन्द गरिएको छ । त्यसै सनिबार जिल्लाको मैनापोखरी बजार पनि बिहानदेखि नै सुनसान बनेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्