Techie IT
शनिबार, मंसीर १३,२०७७

कोरोना भाइरस नेपालः काठमाण्डू उपत्यकामा प्रतिबन्धात्मक कदम चाल्नुपर्ने अवस्था कसरी आयो


काठमाडौं,३१ साउन

कोरोनाभाइरस सङ्क्रमणलाई लिएर काठमाण्डू उपत्यकाका तीनवटै जिल्लामा शुक्रवार रातिदेखि लागु हुने गरी आधा महिनाका लागि विभिन्न गतिविधिमा प्रतिबन्ध लगाएका छन्।

काठमाण्डू, ललितपुर र भक्तपुरका सुरक्षा समितिको निर्णयबमोजिम साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म सभा, जुलुसदेखि धार्मिक भेलासम्मका गतिविधि गर्न निषेध गरिएको भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

स्थानीय प्रशासनको आदेशलाई उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

पछिल्लो समय काठमाण्डू उपत्यकामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको तथ्याङ्क छ।

काठमाण्डू उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण. गएको तीन साताको पुष्टि साप्ताहिक सङ्ख्या.  .

निषेधको निर्णय किन?

उपत्यकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको बढ्दो सङ्ख्या र सङ्क्रमणलाई लिएर मानिसहरूको बेवास्ताका कारण निषेधको बाटोमा जानुपरेको अधिकारीहरूले बताएका छन्।

“बिरामीहरू बढ्दै गएको, अस्पतालहरू भरिन थालेको, आइसोलेशनको समेत अभाव हुन थालेको र सङ्क्रमणलाई लिएर मानिसहरूमा पनि चेत नआएकोले कडाइ गर्नुपर्ने देखियो,” प्रजिअ पाण्डेले भनिन्।

उनका अनुसार पछिल्लो निर्णय लिनुअघि तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले मानिसहरूका गतिविधि अनुगमन गर्न लगाएका थिए।

“अनुगमनको क्रममा मानिसहरूमा अटेरीपन र भनिएका नियमहरू पालना नगरेको पाइएपछि हामीले कडा कदम चालेका हौँ,” प्रजिअ पाण्डेले थपिन्।

भक्तपुर

के निषेध गरिए?

शुक्रवार तीनै जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गरी निम्न गतिबिधिमा प्रतिबन्ध लगाएका छन्:

  • खुला स्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा, जुलुस गर्न
  • जात्रा, महोत्सव जस्ता भिडभाड हुने गतिविधि सञ्चालन गर्न
  • दैनिक हुने नित्य पूजा बाहेकका सबै धार्मिक गतिविधिहरू
  • उद्योग-व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप
  • चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरू
  • शैक्षिक संस्थाहरू सञ्चालन गर्न
  • सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सलुन, ब्यूटी पार्लर, स्पा, स्विमिङ्ग पूल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न
  • फूटपाथ, खुला ठाउँ र ठेला गाडा/साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय कवाडी सङ्कलन गर्न
  • उद्योग, व्यवसाय सञ्चालनका लागि जनस्वास्थ्यसम्बन्धी मापदण्डविपरीत श्रमिक कामदारको ओसारपसार गर्न
  • टेक अवे बाहेक होटल तथा रेष्टुराँ सञ्चालन गर्न
ललितपुर

जनस्वास्थ्यविद्‌ के भन्छन्?

उपत्यकामा पछिल्लो पटक चालिएको कदमलाई जनस्वास्थ्यविद्‌हरूले सकारात्मक रूपमै लिएका छन्।

तर त्योसँगै थप कामहरू पनि गर्नुपर्ने आवश्यकता औँल्याउँछन् पूर्वस्वास्थ्य सचिव डा. शेनेन्द्रराज उप्रेती।

“स्यालको शिकारमा निस्किँदा बाघलाई चाहिन सक्ने खजाना पनि लिएर जानुपर्छ भनिन्छ नि, यो विषयमा पनि त्यस्तै गर्नुपर्छ,” उनले भने।

“अहिले कोरोनाभाइरस सङ्क्रमितलाई मात्रै हेर्ने ‘डेडिकेटेड’ अस्पतालको व्यवस्था, गम्भीर बिरामीका लागि अति सघन उपचार कक्षको व्यवस्था र वडावडामा आइसोलेशनको व्यवस्था गर्न सक्नुपर्छ।”

त्यसका लागि सरकारले निजी क्षेत्रका अस्पतालहरूसँग मिलेर अघि बढ्नुपर्ने डा. उप्रेतीको सुझाव छ।

कोरानाभाइरस सङ्क्रमितलाई ध्यानमा राख्दै सरकारले निजी क्षेत्रका अस्पतालहरूलाई २० प्रतिशत शय्या छुट्ट्याउन भने पनि त्यो कार्यान्वयनमा आएको नदेखिएको उप्रेती बताउँछन्।

राज्यले पूरा गर्नुपर्ने दायित्वसँगै आमनागरिकले पनि अहिलेको महामारी नियन्त्रणमा आफ्नो तर्फबाट सघाउनुपर्ने जनस्वास्थ्यविद्‌हरू सुझाउँछन्।

सरकारले साउन पहिलो साता लकडाउन खुकुलो बनाएपछि मानिसहरूले बजार, पसलहरूमा अनावश्यक भिडभाड गर्ने गरेको, सामाजिक दूरी कायम नगरेको र कतिपयले मास्क समेत नलगाउने गरेको पाइएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, “मानिसहरूले पनि आफ्नो आनीबानी सुधार्नुपर्‍यो।”

“खोप नआएसम्म यो भाइरसबाट जोगिने उपाय अवलम्बन गर्दै जिउनुपर्ने हुन्छ।”(वीवीसी नेपाली सेवा बाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्