Techie IT
आईतबार, असोज ४,२०७७

बझाङमा फेरि भरिन थाले क्वारेन्टाइन


बझाङ, साउन ३०
जिल्लामा केही दिनअघि क्वारेन्टाइनमा बस्नेको संख्या क्रमशः घट्दै गएको थियो । तर भारतमा रोजगारी गुमाएर नेपाल फर्किने मानिसको संख्या बढेपछि बझाङका विभिन्न स्थानका क्वारेन्टाइन फेरि भरिन थालेका छन् ।

भारतमा कोरोना संक्रमणले भयावह रूप लिन थालेपछि धेरैजसो जिल्लावासीहरू रोजगार गुमाएर गाउँ फर्किने क्रममा क्वारेन्टाइनमा बस्न थालेका हुन् । भारतमा तलब पाउने समय १ तारिकदेखि १५ तारिकसम्म भएकाले धेरैजसो तलब बुझेर घर फर्कन थालेको केदारस्युँका सुरेश धामीले बताए । उनका अनुसार अस्पतालले बिरामी चेक समेत नगर्ने, साहुहरूले तलब घटाउने र जागिरबाट निकाल्ने क्रम बढेपछि जिल्ला भित्रिने क्रम बढेको हो । अन्य बिरामी भए पनि भारतका अस्पताल चेकजाँच गर्न मान्दैनन्, तलब पनि घट्यो, घटेको तलब पनि दिन नमानेपछि नेपाल फर्किनुपरेको राजु सिंहले बताए ।

‘परदेशमा तड्पेर बाँच्नुभन्दा आफ्नै गाउँघर सुखदुःख गरौँला भनेर फर्कियौँ’, छबीसपाथिभेरा ७ का कटक धामीले भने । बझाङमा साउन २१ अर्थात् अगष्ट ५ तारिकदेखि बुधबारसम्म जिल्ला भित्रिनेको संख्या पाँच सय ९६ रहेको छ, जसमा भारतबाट मात्रै यो अवधिमा पाँच सय २२ जना विभिन्न क्वारेन्टाइनमा थपिएका छन् । बुधबार ८५ जना थप भएसँगै जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ७७ पुगेको छ ।

हाल क्वारेन्टाइनमा थपिने र डिस्चार्ज भएर घर फर्किनेको संख्या बराबरी रहेको छ । अहिले सबैभन्दा बढी केदारस्युँ गाउँपालिकामा एक सय ८१ जना क्वारेन्टाइनमा बसिरहेका छन् । यस्तै जिल्लाभरका स्थानीय तहले व्यवस्थापन गरेका आइसोलेसनमा हाल ६१ जना बसिरहेका छन् । आइसोलेसनमा बस्ने संख्या पनि केदारस्युँ गाउँपालिकामा नै बढी रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्