Techie IT
आईतबार, कात्तिक ९,२०७७

UNOPS द्वारा नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं, २९ साउन

 United Nations Office for Project Services (UNOPS) ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

उक्त सामग्री UNOPS को कार्यालय विशालनगरमा बिहीबार आयोजित एक कार्यक्रमबीच UNOPS नेपालका कन्ट्री डाइरेक्टर Charles Callanan ले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतलाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ५ सय थान मेडिकल पीपीई सेट, ५ सय थान फेस सिल्ड, ५ सय थान क्याप, ५ सय थान सु-कभर, ५ सय थान सर्जिकल ग्लोभ्स, ५० हजार थान सर्जिकल मास्क, ५० हजार थान नन-सर्जिकल रबर ग्लोभ्स, १६ लिटरको ५ सय थान डिसइनफेक्टेन्ट स्प्रे, १ हजार २ सय लिटर डिसइनफेक्टेन्ट लिक्विड र  ५ सय थान थर्मोमिटर गन रहेका छन् ।

          उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले UNOPS ले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गर्दै आगामी दिनमा नेपाल प्रहरी र UNOPS  बिचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्नुभयो ।

कन्ट्री डाइरेक्टर Charles ले नेपाल प्रहरीसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै सहकार्य र समन्वयलाई निरन्तरता दिने बताउनुभयो । नेपाल प्रहरीलाई आवश्यक साथ र सहयोग प्रदान गर्नका लागि आफू सदैव तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।उक्त अवसरमा प्रहरी अधिकृत तथा UNOPS का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्