Techie IT
बिहीबार, वैशाख २,२०७८

३ घर विस्थापित, ३० घरपरिवार उच्च जोखिममा


सल्यान, साउन २९
लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पु-याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिराको उच्च जोखिममा छन् ।

वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके कामी र विमला बुढाथोकी तथा वडा नं. ४ का निराजन विकको घर पहिराले बगाउँदा परिवार विस्थापित भएका छन् । पहिराले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए ।

वर्षासँंगै आएको पहिराका कारण ग्रामीण सडक र विद्यालयमा समेत क्षति पुगेको बताइएको छ । “अहिले पनि वर्षा भइरहेको छ, गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् उनीहरुलाई सतर्क गराइएको छ”, अध्यक्ष केसीले भने ।

पहिराले दार्मा गाउँपालिकाका नौ घर तथा तीन विद्यालयमा समेत क्षति पु-याएको केसीले जानकारी दिए । “पहिराले गाउँपालिकाभित्र मानवीय क्षति भएको छैन तर पनि आर्थिक रुपमा भने साढे २ करोडभन्दा बढीको क्षति पु-याएको छ, वर्षा अझै भइरहेकाले गाउँपालिकाभित्र पहिराको जोखिम अझै हटेको छैन”, अध्यक्ष केसीले राससलाई भने ।

पहिराले सडक, विद्यालय, घर तथा खेतमा बढी क्षति पु-याएको अध्यक्षको भनाइ छ । गाउँपालिकाले पहिराका कारण विस्थापित परिवारलाई आपत्कालीन राहत वितरण गरेको छ ।“हामीले गाउँपालिकाभित्र पहिरोका कारण विस्थापित परिवारलाई त्रिपाल, खाद्यान्न तथा जाली उपलब्ध गराएका छौंँ, गाउँपालिकाभित्र अहिले पनि जोखिमको सम्भावना भइरहेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ”, केसीले भने ।

ग्रामीणस्तरमा निर्माण गरिएका सडक छेउमा रहेका घर पहिराको उच्च जोखिममा छन् । गाउँपालिकाभित्रका विद्यालयमा समेत पहिराले क्षति पु-याएका कारण मर्मतसम्भार नगरेर विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

पहिराका कारण गाउँपालिका जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकामा यातायातका साधन चल्न सकेका छैनन् । गाउँपालिका जोड्ने मुख्य सडक तत्काल सञ्चालनमा ल्याउन नसकिने गाउँपालिकाले जनाएको छ । पहिराका कारण ठाउँठाउँमा पहिरो गएको र वर्षात्का कारण पुनः पहिरो आउने भएकाले तत्काल ग्रामीण सडक सञ्चालन गर्न नसकिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्