Techie IT
३० जेठ २०७८, आईतबार

सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व संकलनमा झण्डै ९९ प्रतिशतको गिरावट


सोलुखुम्बु ।
सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व संकलनमा झण्डै ९९ प्रतिशतले गिरावट आएको छ । कोरोना कहरका कारण सिजनमा पर्यटकीय गतिविधि ठप्प हुँदा राजस्व संकलनमा ९८ दशमलव ७६ प्रतिशतले गिरावट आएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका सूचना अधिकारी तथा साहयक संरक्षण अधिकृत पेम्बा शेर्पाका अनुसार गत आर्थिक वर्ष २०७६-०७७ को पहिलो चौमासिकमा चार करोड ४४ लाख २३ हजार पाँच सय ६४ रूपैयाँ संकलन गरेको कार्यालयले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पाँच लाख ५१ हजार एक सय ५६ रूपैया २५ पैसा मात्रै राजस्व संकलन गरेको छ ।

असोजदेखि मंसिरसम्म र चैत्रदेखि जेष्ठसम्मलाई खुम्बु क्षेत्रमा मुख्य पर्यटकीय सिजन मानिन्छ । यस सिजनमा सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटकबाट संकलन गरिएको शुल्क र हेलिकोप्टर अवतरण तथा बन पैदावर शुल्कलाई निकुञ्जले मुख्य आम्दानीको रूपमा लिने गरेका छन् । तर कोरोना संक्रमणका कारण गत वर्षको चैत्र ११ गतेबाट सुरु भएको लकडाउनले पर्यटकीय गतिविधि ठप्प हुँदा राजस्व संकलनमा भारी मात्रामा गिरावट आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा पर्यटक शुल्कबाट चार करोड २८ लाख ९८ हजार पाँच सय ५३ रूपैयाँ तथा हेलिकोप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १५ लाख २४ हजार छ सय ११ रूपैयाँ राजस्व संकलन भएको थियो । तर चालू आर्थिक वर्षको सोही अवधिमा पर्यटकबाट पाँच लाख १६ हजार तीन सय ५० रूपैँया र हेलिकोप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार तीन सय छ रूपैयाँ २५ पैसा संकलन भएको उपाध्यायले बताए । निकुञ्जले विदेशी पर्यटकबाट प्रति पर्यटक ३ हजार रूपैयाँ प्रवेश शूल्क लिने गरेको छ भने सार्क मूलुकका नागरिकबाट एक हजार पाँच सय र एक पटक हेलिकोप्टर अवतरण गरेबापत तीन हजार अवतरण शुल्क लिने गरेको सूचना अधिकारी शेर्पाले बताए ।

२०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज ११ सय ४८ वर्गकिमि क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुराहरू समेत रहेको छ । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समेत समावेश गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्