Techie IT
बुधबार, असोज ७,२०७७

बाढीपहिरो पीडितलाई कांग्रेसको सहयोग


दोलखा, साउन २९
दोलखाको गौरीशंकर गाउँपालिकाका बाढी र पहिरोपीडितलाई नेपाली कांग्रेस दोलखाले सहयोग हस्तान्तरण गरेको छ । बाढीपहिरोमा परेर ज्यान गुमाएका र विस्थापित बनेका पीडित परिवारलाई कांग्रेसले दुई लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

जिल्लाको गौरीशंकर गाउँपालिका–८ मा पर्ने टुनिटार र गुरुम्फीमा पहिरो जाँदा एक जनाको ज्यान गएको थियो भने २२ घर विस्थापित भएका छन् । पहिरोले पु-याएको क्षतिका आधारमा आर्थिक सहयोग उपलब्ध गराएको दोलखा कांग्रेसले जनाएको छ । पहिरोमा परेर ज्यान गुमाएका कालिञ्चोक गाउँपालिका– ८ सुनखानिका सुरेश सिवाकोटीको परिवारलाई नगद १० हजार सहयोग गरेको छ ।

मृतकका पितालाई भेट्न गएका कांग्रेस दोलखा नेता कार्यकर्ताले परिवारलाई काजकिरिया गर्न केही सहज होस् भन्दै तत्कालका लागि १० हजार सहयोग गरेको छ । उक्त परिवारलाई पछि थप सहयोग गर्ने कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खडेकाले जानकारी दिए । त्यसैगरी कांग्रेसले पहिरोले पूर्ण क्षति पु-याएका नौ घरधूरीलाई प्रतिपरिवार १० हजार र सामान्य क्षति पुगेका २० घरधूरीलाई प्रतिपरिवार पाँच/पाँच हजारका दरले आर्थिक सहयोग छ । कांग्रेस दोलखाले क्षतिको स्थलगत अवलोकनसहित सहयोग हस्तान्तरणका लागि पहिरो प्रभावित क्षेत्रमा पुगेर आर्थिक सहयोग गरेको हो ।

त्यसैगरी अहिलेसम्म कसैको आखा पुग्न नसकेको खारे र चंखु जोड्ने झोलुङ्गे पुल मर्मत गरेर आवातजावत गर्न भन्दै पुल मर्मतको लागि पनि कांग्रेसले आर्थिक सहयोग गरेको छ । स्थानीयले २२ गतेको बाढीपहिरोले दैनिक ओहोरदोहोर गर्ने पुलमा क्षति गरेको गुनासो गरेपछि स्थानीयको समस्या समाधान गर्ने उद्देश्यले खारेखोलाको झोलुङ्गे पुल मर्मत गर्न १० हजार रुपैयाँ सहयोग गरेको कांग्रेसले जनाएको छ । दोलखा कांग्रेसले पहिरो प्रभावित टुनिटार र गुरुम्फीमा उपयुक्त भूगोल पहिचान गरेर पूर्वाधारसहितको एकीकृत बस्ती बसाउन पहल गर्ने जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्