Techie IT
९ असार २०७८, बुधबार

‘व्यक्ति-हत्या’को दुई दिनपछि बोल्यो काङ्ग्रेस, प्रधानमन्त्रीको दल अझै मौन


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै खालका आलोचना नसहने बताएका छन्। विश्व मानव अधिकार दिवसका अवसरमा रचनात्मक लोचनाको स्वागत गर्ने उल्लेख गर्दै भनेका छन्, “तर आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सदभावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन सक्दैन।”

अर्थात् सरकार आलोचनाको अर्थ खोज्ने र सबैखालका आलोचना गाह्य नहुने पक्षमा रहेको उनको अभिव्यक्तिले जनाउँछ।आलोचनाको सीमारेखामा जोड दिएका प्रधानमन्त्री ओली नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक अध्यक्ष हुन्।

“आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचनाहरू ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य हुन सक्दैनन् । यस्ता कार्यहरू मानव अधिकार विरुद्धका दण्डनीय अपराधका रूपमा लिइन्छन्,” ‍ओलीले भनेका छन्।

तर नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीले जिम्मेवारी स्वीकार गरेको मोरङका शिक्षकको हत्याबारे नेकपा मौन छ।नेपाल मानव अधिकार सङ्गठनले उक्त घटना ‘अत्यन्त गम्भीर प्रकृतिको भएको’ ठहर गरेको छ।

उसले एउटा वक्तव्य जारी गर्दै ‘सरकार, सबै राजनीतिक दल, नागरिक समाज लगायत सम्बन्धित सबै पक्षलाई समयमै सचेत हुन अपील’ गरेको छ।

 

विप्लव

सर्वसाधारणको पहिलो नियोजित हत्या

तर सबैभन्दा ठूलो दल नेकपा चुपचाप छ। उक्त पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘त्यसप्रकारको व्यक्ति हत्याको दृढतापूर्वक विरोध गर्ने’ पार्टी नीति सुनाए।

विप्लवको दलको हिंसात्मक गतिविधिका कारण यसअघि पनि प्रहरी, म्यादी प्रहरी र सर्वसाधारणको ज्यान गएको थियो।तर नियन्त्रणमा लिएर सर्वसाधारणको हत्या गरिएको यो पहिलो घटना भएको बताइएको छ।

नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष महामुनीश्वर आचार्यले भने, “उनीहरूले सामान्य रूपमा लिएका होलान् तर यो घटना साङ्घातिक र कायरतापूर्ण छ अनि नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको उल्लङ्घन हो।”

“तर मैले पार्टीहरूको अकर्मण्यता नियमित देखेको छु।”यो समाचार तयार पार्ने क्रममै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको सम्पन्न बैठकले घटनाको विरोध गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले घटनामा संलग्नमाथि कडा कारबाहीको माग गरिएको जानकारी दिए।

समयमा होस् नदेखाउने दल

प्रहरीको गोली लागेर ज्यान गुमाएका विप्लवको दलका कार्यकर्ता कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै नेकपाकै सांसदहरूले संसद्‌मा चर्को आवाज उठाएका थिए।

सरकार र नेकपाकै नेताहरू आमने-सामने भएका थिए।तर पछिल्लो शिक्षक हत्याको घटनाप्रति दलको असहमति जनाए पनि एउटा वक्तव्य जारी गर्न किन आवश्यक देखेन नेकपाले?

प्रवक्ता श्रेष्ठको जवाफ थियो, “सरकार र पार्टीको तर्फबाट संयुक्त रूपमा छलफल गरेर के गर्ने भन्नेबारे दुई अध्यक्षबीच छलफल भयो कि मलाई जानकारी छैन।”

नेकपाको एउटा धार तत्कालीन नेकपा माओवादीले १० वर्ष लामो सशस्त्र सङ्घर्ष गरेको थियो। त्यहीबाट फुटेको एउटा समूहको नेतृत्व विप्लवले गरेका हुन्।

आचार्य भन्छन्, “माओवादीले सशस्त्र विद्रोह सुरु गर्दा पनि यस्तै भएको थियो। त्यो बेला पनि समस्या सम्वोधन गर्न दलहरूले संयुक्त रूपमा कुनै प्रयास गरेको देखिएन्। समयमै बोलेनन्। समयमै होस् नआउने दलहरूको प्रवृत्ति हो।”

कांग्रेसको आग्रह: वार्ता

कांग्रेसले व्यक्ति हत्याको बाटो छाडेर शान्तिपूर्ण बाटोमा आउन विप्लवको दललाई अपील गरेको प्रवक्ता शर्माले जानकारी दिए।यसअघि सरकारले पनि वार्ता प्रयास गरेको थियो। त्यसक्रममा केही बन्दी कार्यकर्ता पनि रिहा गरिएको बताइएको थियो।

नेकपा प्रवक्ता श्रेष्ठले पनि वार्ताद्वारा समस्याको समाधानलाई सबभन्दा राम्रो विकल्प ठानेका छन्।वार्ताबारे पार्टीको नीतिका सम्बन्धमा उनी भन्छन्, “अहिले पनि सरकारले त्यो दिशामा पहल गर्दा राम्रो हुन्छ, सोचेकै होला।”

पछिल्लो पटक पूर्वशर्तको रट लगाउँदै सरकार र विप्लवको पार्टी वार्ताबाट टाढिएका थिए।सरकारले हिंसा छाड्ने घोषणा गर्न आग्रह गर्ने गरेको थियो भने विप्लवको दलले आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्ने गर्दथ्यो।(बीबीसी)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्