Techie IT
८ असार २०७८, मंगलबार

चेम्बर र रूसी टोलीबीच लगानी वार्ता


काठमाडौं ।
नेपालको रेल्वे सेवा, मेट्रो सेवा र अटोमोबाइल क्षेत्रमा लगानी गर्न रूसका लगानीकर्ता इच्छुक देखिएका छन् । रसियन फेडरेसनको व्यापारिक प्रतिनिधिमण्डल र नेपाल चेम्बरबीच बुधबार भएको भेटमा रसियन प्रतिनिधिहरुले नेपालको पूर्वाधार क्षेत्रमा सहकार्य तथा लगानी गर्न इच्छा देखाएका हुन् । रसियन फेडरेसनका व्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भ्लादिसम मिट्रिभले कोभिडविरुद्धको भ्याक्सिन रूसले परीक्षण गरी विशाल रुपमा प्रयोगमा आइसकेको उल्लेख गर्दै सो भ्याक्सिनको नेपालमा पनि प्रयोग गर्न सरल, सहज र छिटो हुने व्यवस्था हुने बताए ।

नेपाल भ्याक्सिन प्राप्त गर्ने सम्भाव्य दश मुलुकको सूचीमा रहेको उनको भनाइ थियो । उनले रूसमा फर्मास्युटिकल सामानको निकासीमा जेनेरिक निकासी गर्ने गरिएको बताउँदै अन्तर्राष्ट्रिय निकासीको ठूलो सम्भावना रहेको दुई मुलुकबीच सहकार्य गर्नु ठूलो सम्भावना रहेको बताए । खासगरी पूर्वाधारमा, रेल्वे सेवामा, मेट्रो सेवामा र अटोमोबाइलमा दुई मुलुकबीच सहयोग र सद्भावको पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो । यसको साथै रूसले डिजिटल अर्थतन्त्रमा समेत जोड दिँदै आएको र नेपालसँग कृषि क्षेत्रमा फिजियोलोजीको बारेमा सहयोगका प्रारम्भिक चरणको कार्य भइरहेको उनले बताए । साथै उनले मेडिकल टुरिजममा जोड दिनुपर्ने बताए ।

खासगरी नेपालमा आयुर्वेदको परापूर्वकालदेखि प्रयोग भइरहेको र रूसमा प्रविधि पर्याप्त भएको कारणले आयुर्वेदको वैज्ञानिक ढंगले विकासमा सहकार्य गर्न व्यवसायीलाई आग्रह गरे । पर्यटन प्रवर्द्धन र व्यावसायिक प्रवर्द्धन गर्न नेपाल र रूसबीच सिधा हवाइ सम्पर्क सुरुवात हुनुपर्ने आवश्यकतामा रूसी व्यापारिक प्रतिनिधिमण्डलका प्रमुखले जोड दिएका थिए । भेटमा नेपालका लागि रूसका राजदूत अलेकसेइ नेइकोभले हालको रसियन फेडरेसनका व्यापारिक प्रतिनिधिमण्डलको भ्रमण कोभिडपश्चात् भएको भ्रमण भएकोले यसको विशेष महत्व रहेको र यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले लाभ लिनसक्ने बताए ।

भेटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिड–१९को भ्याक्सिन रूसले सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना दिँदै ती भ्याक्सिन नेपालमा आयात गरी नेपाली जनतामा वितरण गर्न चेम्बरले सहजकर्ताको भूमिका खेल्न तयार रहेको बताए । साथै नेपालको अपार जलसम्पदाको समुचित प्रयोग गर्न जलस्रोतमा रूसी लगानीको साथै ४०० के.भी. ट्रान्समिसन लाइनमा समेत लगानी आउने आशा गरिएको उनले बताए । साथै उनले विगतमा रूससँग सिधा सम्पर्क गर्न एरोफ्लोटको सेवा उपलब्ध भएको स्मरण गर्दै सो वा अन्य सेवावाट पर्याप्त प्रवर्द्धन गर्न सिधा हवाइ सम्पर्क हुनुपर्ने बताए ।

नेपाल जडीबुटी र आयुर्वेदको जननी मुलुक नेपाल भएकोले स्वास्थ्य उपचारका लागि नेपालको जडीबुटी र रूसको प्रविधिको प्रयोग गर्नुपर्ने बताए । साथै, नेपालमा रूसबाट मलखाद आयात गर्न साल्ट ट्रेडिङसँग वा अन्य निकायसँग समेत बीटुबी बैठक गरी सो कार्य गर्न सकिने समेत बताए । साथै उनले, खनिज तथा खनिजजन्य वस्तुको उत्खनन, आपसी व्यापार र लगानीको लागि समेत नेपाल अल्पविकसित मुलक भएकोले र विकासोन्मुख मुलुकमा स्तरोन्नतिको क्रममा रहेको हुँदा हालसम्म अमेरिका, अस्ट्रेलिया र युरेपियन मुलुकहरुमा सामान्य गाह्यता प्रणाली जीएसपी र एभीथ्रिङ्ग बट आर्मअन्तर्गत विना भन्सारकोटा फ्रि सामान निकासी गर्न समेत अवसरको फाइदा लिन रूसी लगानीकर्ताहरुलाई आग्रह गरे ।

साथै दुई मुलुकमा हुने व्यापार भेला तथा प्रदर्शनीमा सहभागितामा समेत अध्यक्ष श्रेष्ठले जोड दिए । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल, महिला चेम्बरका अध्यक्ष, युथ चेम्बरका अध्यक्ष, पर्यटन समितिका सभापति, सामाजिक तथा स्वास्थ्य समितिका सभापति, भन्सार समिति सभापति, नेपाल चीन व्यापार प्रवर्द्धन समिति सभापति, वाणिज्य समितिका सभापतिलगायतको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्