Techie IT
मंगलबार, असोज ६,२०७७

एक अर्ब लगानीमा युवाहरुद्वारा क्वालिटी पेपर इण्डष्ट्रिज सञ्चालन


चितवन, साउन २९
चितवनको छिमेकी जिल्ला नवलपुरको आरुङ्गखोलामा एक अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ । कागज उद्योगको इतिहास जोडिएको नवलपरासी जिल्ला हाल नवलपुर र पश्चिम नवलपरासीको रुपमा रहेको छ । भृकुटी कागज उद्योग हाल बन्द रहे पनि तत्कालीन अवस्थामा कागजको जिल्लाको रुपमा परिचित थियो ।

नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लगानीमा क्वालिटी पेपर इन्डष्ट्रि«ज प्रालिले सञ्चालन आएको हो । उद्योगले बुधबार पत्रकार सम्मेलन गर्दै स्वदेशमा खेर गएको कागजजन्य फोहोर र स्थानीय कच्चा पदार्थको प्रयोगबाट नयाँ क्वालिटी पेपर इन्डष्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको जनाएको छ । नवलपुरस्थित आरुङ्गखोलामा वि.सं. २०७५ सालदेखि स्थापना भई भरतपुरमा केन्द्रीय कार्यालय रहेर झण्डै दुई वर्षको मिहिनेतपछि आफ्नो उत्पादन बजारमा ल्याउनलागेको हो ।

मुख्य रुपमा प्याकेजिङ (कार्टन) बनाउने कागज उत्पादन पहिलो चरणमा सुरु गर्नलागेको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए । यसअघि नेपालमा प्याकेजिङका लागि भारत र चीनसहित तेस्रो मुुलुकबाट आयात गर्ने अवस्था थियो । निकट भविष्यमा सेतो कागज पनि यही उत्पादन गर्ने र मुलुकको कुल खपत आधा हिस्सा ओगट्ने लक्ष्य राखेका उनको भनाइ छ ।

‘नेपाली पहिचान दिने र यहाँको उत्पादनलाई प्रयोग गर्दै आत्मनिर्भर र स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिँदै हामीले नयाँ कागज उद्योग सञ्चालन ल्याएका हौँ’, उद्योगका अध्यक्ष गुप्ताले भने, ‘लामो समयमा विभिन्न व्यापार व्यवसायमा अनुभव बटुलेका युवा व्यवसायीहरुले स्वदेशी कच्चा पदार्थमै नयाँ प्रयोग गर्दै क्वालिटी पेपर इन्डष्ट्रिज प्रालि जन्मियो ।’

कागजजन्य फोहोरलाई पुनः प्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्यसहित यो उद्योग सञ्चालन ल्याएको प्रबन्धनिर्देशक राजन पियाले जानकारी दिए । उनले युरोपियन प्रविधिको प्रयोग गरी वातावरण प्रदूषणलाई रोक्न यो कागज उद्योग स्थापना भएका दाबी गरेका छन् । यस उद्योग करिब ११ बिघा क्षेत्रफलमा फैलिएको छ ।

नेपालमा हाल ८० प्रतिशत सेतो कागज तथा ६० प्रतिशत प्याकेजिङ कागज विभिन्न मुलुकबाट आयात हुने गरेको तथ्यांक छ । ‘नेपालमा खेर जाने कागजजन्य फोहोर हाल सस्तो मूल्यमा विदेश निर्यात हुँदै थियो’, उनले भने, ‘अबदेखि स्वदेशमा नै यसको पुनः प्रयोगमा ल्याउनु हाम्रो मुख्य उद्देश्य पनि हो ।’ स्वदेशमा नै रोजगारी सिर्जना गरेर देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन चार जना युवाहरु र प्रभु बैंक लिमिटेडको सहकार्यमा एक सय करोड रुपैयाँ लगानीमा उद्योग सुरु हुनलागेको हो ।

उद्योगले स्थानीय एक सय ५० जनालाई रोजगारी दिने बताएको छ । नेपालमा हाल तीनवटा कागज उद्योग रहेका छन् । वीरगञ्ज र विराटनगरको उद्योग सञ्चालनमा रहे पनि भैरहवाको उद्योग बन्द छ । उद्योगले नेपाली बजारबाट निस्किने दैनिक एक सय १५ टन कागजजन्य फोहोर संकलन गरी प्रशोधन गरी एक सय २० टन उत्पादन गर्नेछ । यसअघि यस्तो फोहोर धेरै मात्रामा भारत र चीनमा निर्यात हुँदै आएको थियो ।

उद्योगले तेस्रो मुलुकबाट आउने कागजको गुणस्तर र मूल्यमा उत्पादन बिक्रीवितरण गर्ने उद्योगका बजार निर्देशक रुपक श्रेष्ठले जानकारी दिए । यस्तै देशमा धेरै पत्रपत्रिकाहरुमा समेत रहेका छन् जसका लागि विदेशबाट कागज आयात गरी प्रकाशन हुने गरेकोमा यस्तो कागजसमेत यहाँ नै उत्पादन सुरु गर्ने उद्योगको तयारी छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्