Techie IT
सोमबार, कात्तिक १०,२०७७

चाँदीको शिवमूर्ति रहस्यमय तरिकाले चोरी


बाँके, साउन २८
तीन महिनाअघि नेपालगञ्जमा भेटिएको चाँदीको शिवको मूर्ति चोरी भएको छ । मन्दिरका पुजारी परिवार राति १ बजेसम्म जागे पनि स्थानीयका अनुसार मंगलबार बिहान ३ बजे मूर्ति चोरी भएको हो ।

नेपालगञ्ज वडा नं. ७ स्थित मन्दिरछेउमा बाटो बनाउने क्रममा फेला परेको चाँदीको मूर्ति एक्कासी हराएको रामजानकी मन्दिर व्यवस्थापन समितिका संयोजक विनोद कश्यपले जानकारी दिए । उक्त मूर्ति रामजानकी मन्दिरमा स्थापना गरिएको थियो । सो बेला वडा नं. १३ का एक व्यक्तिले मूर्ति आफ्नो भनेर दाबी गरेपछि व्यवस्थापन समिति र दाबीवालाको सहमतिमा मन्दिरमा स्थापना गरिएको थियो । मन्दिरमा सहजै छिर्नसक्ने कुनै बाटो नभएकाले चोरीको घटना रहस्यमय बनेको छ ।

समितिका सल्लाहकार हर्कबहादुर गुरूङले चोरी हुने कुनै बाटो नदेखिएकाले रहस्यमय भएको बताए । प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दा चोरी हुनसक्ने आधार नदेखिएको जनाएको छ ।

अवैध युरिया मल र पानको पात बरामद : अवैधरूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा पानको पात र युरिया मलसहित बाँके प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राति बाँकेको डुडुवा गाउँपालिका २ बेतहनीस्थित प्रहरी चौकीमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा १२ बोरा युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । बरामद गरिएको मल आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको समेत खड्काले बताए ।

त्यसैगरी डुडुवा गाउँपालिका ३ हलबलडोली उचुवामा रहेको इलाका प्रहरी कार्यालय वनकट्टीको टोलीले भन्सार छली अवैधरूपमा ल्याउँदै गरेको पानको पातसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका ६ नयाँबस्तीका २६ वर्षीया शोभा कुर्मी रहेको प्रहरीले जनाएको छ । कुर्मीको साथबाट १० डोली पानको पात, १ प्याकेट सुपर पावर सुर्ती र एउटा साइकल बरामद गरिएको जिप्रका बाँकेका प्रवक्ता खड्काले जानकारी दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्