Techie IT
बिहीबार, असोज ८,२०७७

गीताबारे यी रोचक तथ्य तपाईंको जानकारीमा पनि होला !


काठमाडौं,,२७ साउन ।

गीता, अठार अध्याय र ७०० श्लोक रहेको ब्रेल लिपिसहित संसारका करिब ८० प्रमुखतम् भाषामा अनुदित भईसकेको र अझै अनुवाद भईरहेको, हिन्दू धर्मशास्त्रमध्येको सर्वोत्कृष्ट शास्त्र हो, जसको पूर्णनाम श्रीमद्भगवद्गीता हो ।

भगवान् श्रीकृष्णको जन्म ई.पू. ३११२ मा जन्म भएको विद्वानहरूको दावी छ । प्राचीन विद्वान आर्यभट्टका अनुसार महाभारत युद्ध ई.पू. ३१३७ मा भयो । सो युद्ध भएको ३५ वर्षपछि ११९ वर्षको उमेरमा कृष्णले देहत्याग गर्नुभयो ।

आर्यभट्टकै अनुसार करिब ५१६० वर्षअघि श्रीकृष्णले गीताज्ञान पाण्डबमध्येका एक, महायोद्धा अर्जुनलाई महाभारतको रणमैदानमा दिनुभएको हो । सर्वप्रथम गीता ज्ञान अर्जुन लगायत सञ्जयले सुने, उनैले धृतराष्ट्रलाई सुनाएका थिए । गीताको संवादमा श्रीकृष्णले ५७४ श्लोक, अर्जुनले ८५ श्लोक, सञ्जयले ४० र धृतराष्ट्रले एक श्लोक बोलेका छन् ।

श्रीकृष्णका गुरू घोर अङ्गीरस थिए भनी छान्दोग्य उपनिषद भन्छ । उनैले कृष्णलाई जुन उपदेश दिएका थिए, सोही उपदेश कृष्णले अर्जुनलाई दिनुभएको हो भनी छान्दोग्य उपनिषदमा पाईन्छ ।

गीतामा युक्तिमार्ग, भक्तिमार्ग, शक्तिमार्ग, मुक्तिमार्गका ज्ञान छन् । कर्मयोग, यम–नियम, धर्मकर्म आदिबारे मार्गदर्शन पाइन्छ । ब्रम्ह (इश्वर) एउटै छन् भन्ने यसको सारसूत्र हो । हरेक शब्द यति सारगर्भित छ, कि प्रत्येक शब्दको लामो ब्याख्या वा छुट्टै पुस्तक हुनसक्छ ।

नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) लाई गीताको अठारै अध्याय, ७०० श्लोक र तिनको अर्थ जुनसुकै बेला पनि फरर्र भन्न सक्नेगरी कण्ठस्थ थियो । बीपीमा पनि गीता–ज्ञान गहिरोसँग थियो । सो ज्ञान उहाँले आफ्ना उपन्यासहरूमा कथानक र पात्रमार्फत अभिव्यक्त गर्नुभएको छ ।

भारतीय कवि रवीन्द्रनाथ ठाकुर (टैगोर) लाई सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार दिलाएको ‘गीताञ्जली’ गीताज्ञानकै प्रभाव हो, जसलाई पढ्दा स्वतः स्पष्ट हुन्छ ।

आदि शंकराचार्यदेखि महात्मा गान्धी, राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन्, रजनीश लगायत सयकडौँ उद्भट विद्वानहरूसम्मले गीता बारे अनेकौं प्रवचन दिए । तर सर्वोत्कृष्ट प्रवचन रजनीशकै थियो ।

–फोटो : गीताको हस्तलिखित सबभन्दा पुरानो ग्रन्थ । यो ग्रन्थ नेपालबाट अवैध तरिकाले भारतमा पुगेको पनि बताईन्छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्