Techie IT
बुधबार, असोज १४,२०७७

बेँसीशहर–चामे सडकको निरीक्षण


काठमाडौं,साउन २७

गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिका सभापतिसहितको टोलीले अविरल वर्षाले क्षतिग्रस्त बेँसीशहर–चामे सडकको स्थलगत निरीक्षण गरेको छ ।

केही दिनअघि अविरल वर्षासँगै आएको पहिराले यस सडकखण्डको बेँसीशहर नगरपालिका–७ स्थित पुवाखोला–६ स्थित खरखरे भिर, मस्र्याङ्दी गाउँपालिकाको बेलौतीबेसीना, भुलभुले, अर्खरे, घोप्टेभिरलगायत स्थानमा क्षति पु¥याएको छ । यीमध्ये घोप्टेभिरमा सडक बगाएको थियो भने हालसम्म पनि सडक अझै सञ्चालनमा आउन नसकेको राससले जनाएको छ ।

समितिका सभापति दीपक कोइरालाले निरीक्षण गर्दै उनले जतिसक्दो यस सडकमा आएको समस्याको समाधान गर्न फास्ट ट्र्याकबाट गर्नुपर्ने भएकाले सो अनुसार गर्नका लागि सरकारलाई सुझाव दिने बताए ।

सडकका लागि बजेटै नपर्नु दुःखद कुरा हो भन्नुहुँदै उनले त्यहीमाथि परेको बजेट पनि काम नभई फ्रिज भएर जानु झन् दुःखको कुरा रहेको र आगामी दिनमा दिगो रुपमा सडक मर्मत तथा सम्हार गर्नका लागि समितिले सम्बन्धित नियकासँग ठूलो पहल तथा दबाब दिने आश्वासन दिए।

सो अवसरमा मस्र्याङ्दी गाउँपालिकाका बासिन्दाले वर्षादेखि गुणस्तरीय सडक हुन नसक्दा ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य हुँदै आएका बताए । करीब २५ वर्षदेखि सडक बने पनि गुणस्तरीय सडक बनाउन सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा स्थानीयवासीले दिनहुँ सास्ती भोग्नुपरेको उनीहरुको भनाइ थियो ।

सडकको निरीक्षणमा गण्डकी प्रदेशसभाका सदस्य मधुमाया अधिकारी, समितिका सदस्य दोबाटे विश्वकर्मा, सरिता गुरुङ, हरिशरण आचार्य, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापालगायतको सहभागी रहेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्