Techie IT
शनिबार, असोज १०,२०७७

खोटाङमा ३ हजार ४ सय ४२ क्वीन्टल चामल बिक्री


खोटाङ, साउन २७
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खोटाङले गत आर्थिक वर्षमा तीन हजार चार सय ४२ क्वीन्टल ६९ किलो चामल बिक्री गरेको छ । जिल्लाका ३ वटा डिपो र १ शाखा कार्यालयबाट उक्त चामल बिक्री भएको हो । कम्पनीले दिक्तेलमा रहेको शाखा कार्यालयबाट गत वर्ष एक हजार दुई सय २३ क्वीन्टल १० किलो चामल बिक्री भएको लिमिटेडका खोटाङ प्रमुख सुनिलकुमार साहले जानकारी दिए । साहका अनुसार जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा रहेको डिपोबाट एक हजार २० क्वीन्टल ४९ किलो, खोटेहाङ गाउँपालिकामा रहेको डिपोबाट चार सय ८८ क्वीन्टल ७० किलो र बाक्सीला डिपोबाट सात सय १० क्वीन्टल ४० किलो चामल बिक्री भएको छ ।

अघिल्लो वर्षको मौजात सात सय ७४ क्वीन्टल ६० किलो र गत वर्षको तीन हजार छ सय ७३ क्वीन्टल ८० किलो चामल गरी कुल ४४ हजार ८० क्वीन्टल ४० किलोमध्ये एक हजार पाँच सय क्वीन्टल ७१ किलो चामल मौजात रहेको प्रमुख साहको भनाइ छ । जिल्लाका सबै डिपो र शाखाका लागि ५/५ सय क्वीन्टल चामलको कोटा निर्धारण भए पनि कोरोनाका कारण ऐसेलुखर्क र बाक्सीला डिपोमा पाँच सय तथा शाखा कार्यालय दिक्तेलमा सात सय क्वीन्टल थप भएर आएको थियो । खोटेहाङ डिपोका लागि भने कोटा थप नगरिएको साहको भनाइ छ ।

गत आर्थिक वर्षमा जिल्लाभर एक करोड बढीको चामल बिक्री गरिएको छ । एक आर्थिक वर्षमा लिमिटेडले एक करोड ५३ लाख ९५ हजार एक सय पाँच रूपैयाँको चामल बिक्री गरेको हो । लिमिटेडको ऐसेलुखर्क डिपोबाट सबैभन्दा बढी ६६ लाख ५३ हजार दुई सय ५० रुपैयाँको चामल बिक्री गरेको छ । साहका अनुसार शाखा कार्यालय दिक्तेलबाट ५६ लाख १८ हजार दुई सय ६८ रुपैयाँको चामल बिक्री भएको छ । त्यस्तै बाक्सीला डिपोबाट ३१ लाख २३ हजार पाँच सय ६० रूपैयाँ र खोटेहाङ डिपोबाट २१ लाख २८ हजार आठ सय ६० रुपैयाँको चामल बिक्री भएको प्रमुख साहको भनाइ छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्