Techie IT
आईतबार, कात्तिक ९,२०७७

सम्पत्तिका लागि षड्यन्त्र 


जनकपुरधाम, साउन २७
जनकपुरका एक पिताले आफ्नै छोरालाई अंश नदिन षड्यन्त्र गरेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का गोविन्दप्रसाद मारवाडीले सम्पत्तिका लागि आफ्नै कान्छा छोरा रोहित हिँसारियालाई छोराको रूपमा नै अस्वीकार गरेका छन् ।

गोबिन्दप्रसादले आफ्नो कान्छो छोरा रोहितलाई धर्मपुत्र पाल्नका लागि आफ्नै सहोदर दाई श्रवणकुमार मारवाडीलाई दिएका थिए । श्रवणकुमारले आफ्नो कुनै सन्तान नभएपछि भाइ गोविन्दको कान्छो छोरो रोहितलाई आपसी समझदारीमा नै धर्मपुत्र राखे । श्रवनले रोहितलाई धर्मपुत्र बनाउन मलपोतमा पाँच सय २० रूपैयाँको दस्तुर तिरेको रसिद समेत कटाएको प्रमाण रहेको छ । यसका लागि उनले मालपोत कार्यालय धनुषाबाट मिति २०४९ साल जेठ ६ गते रसिद नम्बर ९६२४ को धर्मपुत्रको लिखित कानुनी रजिष्ट्रेसन पास गराए ।

उक्त कानुनी रजिस्ट्रेसनपश्चात् गोबिन्दप्रसादले श्रवणकुमारलाई एक पत्र लेखेका थिए । रोहितको जन्मदर्तामा बुबाको नाम गोविन्दप्रसाद माडवारी र आमाको नाम राधादेवी नै उल्लेख छ । गोविन्दप्रसादका रोहितसहित २ छोरा तथा दुई छोरी छन् ।

रोहित हिँसारियालाई श्रवणकुमार मारवाडीले धर्मपुत्रका रूपमा पालनपोषण गरिरहेका थिए । श्रवणकुमार मारवाही बसाइसराइ गरी भारतको पुपरीमा बस्न थालेपछि उनले रोहितलाई पनि भारतमा नै लगे । श्रवन र उनको श्रीमतीको मृत्यु भएपछि उनको नाममा रहेको सम्पत्ति खानको लागि रोहितका आफ्नै बाबु गोविन्दले अहिले उनलाई अनाथ बनाइदिएका छन् । गोविन्दले आफ्नो एक मात्रै छोरो रहेको बताउँदै दाजु श्रवनको नामको सम्पत्ति आफ्नै नाममा ल्याएका छन् ।

श्रवणकुमारको नाममा जिल्ला धनुषा जनकपुरधाम नगरपालिका वडा नं २ सिट नं १३५६–१६ कि नं. १६२ को ०–१–१०–० र ए वडा नं. ५ सिट नं. १३५५–२४ कि नं. ८४ को ०–०–२–३१–२ जग्गा दर्ता भएको लालपुर्जा रहेको छ । २०७५ साल भदौ १६ गते श्रवणकुमार मारवाडीका पत्नी रजोदेवी मारवाडीको मृत्यु भयो र त्यसको एक वर्ष नबित्दै श्रवणकुमार मारवाडीको २०७६ आघ २ गते मृत्यु भएपछि उनले सम्पत्ति खान छोरोविरुद्ध आफ्नै बाबु लागिपरेका हुन् ।

रोहित हिँसारियाका अनुसार श्रावणकुमारको नाममा रहेको सम्पत्ति खाने उद्देश्यले रोहितका दाजु कन्हैयाले धनुषा जिल्ला अदालतमा अंश दर्ता मुद्दा दिए । अंश मुद्दामा आफूलाई गोविन्दप्रसादको एक मात्र छोरा देखाए र ठूलोबुबा श्रवणकुमार निसन्तान भएको देखाएर निवेदन दर्ता गरे । धनुषा जिल्ला अदालतलाई गोविन्दप्रसाद र कन्हैया हिँसारियाले जानकारी गराएअनुसार श्रवणकुमारको कुनै सन्तान थिएन ।

श्रवणकुमारको नाउँमा जनकपुरधामको सोनारपट्टीमा करोडभन्दा माथिको सम्पत्ति छ । सो जग्गा कानुनअनुसार श्रवणकुमारले धर्मपुत्रका रूपमा कानुनीरूपमा नै राखेका गोविन्दप्रसाद मारवाडीकै कान्छा छोरा रोहितको नाउँमा हुनुपर्ने हो तर उनका दाजु र बाबुको कारण उनको नाममा नामसारी भएन । साथै गाोविन्दले आफ्नो नाममा रहेको जग्गा पनि रोहितलाई दिएका छैनन् । उनले आफ्नो नाममा रहेको सबै जग्गा जेठो छोरो कन्हैयालाई दिएका छन् । यही विषयमा अदालतमा समेत यस विषयमा अहिले मुद्दा परेको छ । रोहित सानैदेखि भारतमा नै बसिरहेकाले उनले त्यहाँ अध्ययन गरेको आधारमा आधारकार्ड समेत बनाएकाले उनको अंशको सम्पत्ति नदिन षड्यन्त्रमा उनका आफ्नै बुबा र दाइ लागेका हुन् ।

रोहितका अनुसार अदालतबाट मिलापत्र गरी उनको हकको करोडौँ मूल्यबराबरको सम्पत्ति झूटा तथ्यहरू उल्लेख गरी अदालतलाई झुक्याई गोविन्द र कन्हैयाले प्राप्त गरेका छन् । रोहितकै अनुसार उनीहरू उक्त जग्गा बिक्री गर्न ग्राहक खोज्दै हिँडेका छन् । उता रोहित आफ्नो सम्बन्ध प्रमाणित गर्न डीएनए परीक्षण गराउन समेत तयार छन् । २०४८ जेठ १४ गते जनकपुरधाममा आफ्नै घरमा जन्म भएको रोहितलाई उनकै पिताले सम्पत्तिको लागि आफ्नो सन्तान नभएको भन्दै सम्पत्तिबाट वञ्चित गरिदिएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्