Techie IT
२ जेठ २०७८, आईतबार

दरौँदीको पानी गोरखा बजारसम्म पु-याउने आयोजना निर्माण कार्य अन्तिम चरणमा


गोरखा ।
दरौँदी खोलाको पानी गोरखा नगरपालिकामा पु-याउन सुरु भएको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । खानेपानी मन्त्रालयअन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९८ प्रतिशत सकिएको जनाएको छ । दरौदी गोरखा बृहत् पम्पिङ खानेपानी तथा सरसफाइ आयोजना नामाकरण गरेर नगरपालिकाको ३ नम्बर वडादेखि ९ वडासम्मका जनतालाई खानेपानी सेवा पु-याउन उक्त आयोजना सञ्चालन भएको हो ।

विशेषगरी दरौँदी खोलाको पानी लिफ्टिङ गरेर गोरखा बजारमा पु-याई वितरण गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो । दरौँदी खोलाबाट पाँच तहसम्म पानी लिफ्टिङ गरेर गोरखा बजार दरबारसम्म पानी पु-याइएको आयोजना कार्यालयले जनाएको छ । दरौँदी खोलाबाट घलान, जलकिनी, काफलघारी, गैरीकुवा र उपल्लो कोट (गोरखा दरबार)सम्म पानी तानेर गोरखा बजारमा पु-याइएको आयोजना प्रमुख देवेन्द्रकुमार झाले बताए ।

उक्त आयोजनाबाट करिब साढे २४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने आयोजना प्रमुख झाको भनाइ छ । गोरखा नगरपालिकाको सो क्षेत्रमा चार हजार आठ सय ५३ निजी धाराहरु जडान भइसकेको आयोजना प्रमुख झाले बताए । यो आयोजनाको ठेक्का सम्झौता लागत रकम ४२ करोड आठ लाख १० हजार रुपैयाँ रहेको छ । आयोजनाका प्रमुख झाले भने, ‘स्थानीय व्यक्तिहरुले विद्युत्को काममा अवरोध गरेकाले केही समय काम ढिला भयो । तर अब आयोजनाको काम पुस मसान्तभित्र सकिनेछ ।’

पानी प्रशोधन गर्ने प्लान्टमा पानी शुद्धीकरण गर्न फिल्टर मिडिया (ग्रेडअनुसारको गिटी बालुवा) राख्ने र फिनिसिङको काम मात्र बाँकी रहेको आयोजना प्रमुख झाले बताए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पानी शुद्धीकरण गरेर आम उपभोक्तालाई वितरण गरिने उनले जानकारी दिए । यो आयोजना गोरखा जिल्लाकै एक नमूना र बृहत् आयोजना हो ।

गोरखा बजारका आम उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मा खानेपानीको सर्भे गरिएको थियो । १५ वर्षका लागि डिजाइन गरिएको उक्त खानेपानी आयोजना निर्माणका लागि २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो । आयोजना कार्यालयका अनुसार ३४ दशमलब ८७ किलोमिटर मुख्य पाइपलाइन तथा ९९ दशमलब तीन किलोमिटर वितरण लाइन र सातवटा रिजर्भवायर ट्याङ्कीमार्फत खानेपानी वितरण हुनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्