Techie IT
आईतबार, माघ ११,२०७७

नेपालले चीनमा सामान निर्यात गर्दा नेपाली क्वारेन्टाइन प्रमाणपत्र स्वीकार नगरेपछि समस्या


काठमाडौं ।
नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपालले चीनमा सामान निर्यात गर्दा नेपाली क्वारेन्टाइन प्रमाण पत्र स्वीकार नगर्दा समस्या भएको बताएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतका लागि नवनियुक्त माहावाणिज्यदूत नवराज ढकाल तथा संघका पदाधिकारीहरुबीच सोमबार भएको भेटमा उनले नेपाली क्वारेन्टाइन प्रमाण पत्र स्वीकार गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

साथै उनले दुई देशको भन्सार कोर्डमा आठ अंक र ६ अंक प्रयोग हुँदा समस्या हुने गरेको बताए । यस्ता प्रक्रियालाई एकरुपता दिई नेपालको निर्यात प्रवद्र्धनका लागि जोड दिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष तुलाधरले कोभिड १९ का कारण नाकामा पूर्णरुपमा सुचारु हुन नसकेको यातायात सुचारु गर्न पहलका लागि अनुरोध समेत गरे । दुई देशबीच व्यापार सहजीकरणका लागि सडक विस्तार गरिनुपर्ने उनले बताए । यस्तै चीन सरकारद्वारा आठ हजार ३० नेपाली उत्पादनमा प्रदान गरिएको शून्य भन्सार सदुपयोगका लागि प्रक्रिया सरलीकरणका लागि आग्रह समेत गरे ।

नेपाल र तिब्बतबीच सदियौं पुरानो ऐतिहासिक सम्बन्ध रहेको भन्दै उनले संघका गतिविधिहरु तथा विद्यमान व्यापारिक सम्भावना र समस्याहरुबारे जानकारी दिए । संघले तिब्बतका व्यापारिक संगठनहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधिमण्डलको आदानप्रदान, पर्यटन प्रवद्र्धन, व्यापारिक मेला, एक्स्पो, सेमिनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढिरहेको समेत उनले जानकारी दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्