Techie IT
४ जेठ २०७८, मंगलबार

राष्ट्रिय जनगणनामा आर्थिक र सामाजिक पक्षको अध्ययन गरिने

३ करोड जनसंख्या र ७० लाख घरपरिवार भएको अनुमान


काठमाडौं ।
राष्ट्रिय जनगणना–२०७८ मा संख्या मात्रै नभई आर्थिक, सामाजिकलगायतका पक्षबारे समेत विस्तृत अध्ययन गरिने भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यसपटकको जनगणनामा पहिलो पटक घर तथा परिवारसम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरुको विस्तृत तथ्थ्यांक संकलन गरिने भएको हो ।

साथै कृषिमा प्रयोग भएका जग्गा, पशुपंक्षीको तथ्यांक र वित्तीय पहुँच, तालिमप्राप्त जनशक्ति, सरकारी अनुदानमा प्रयोग भएको घरहरुको समेत तथ्यांक संकलन गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । उनले यसपटकको जनगणनामा पहिलोपटक स्थानीय तहसम्म गई विस्तृत तथ्यांक संकलन गरिने बताए । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना सुरु हुन अब दुई सय ११ दिन बाँकी रहेको छ । तथ्यांक विभागले नेपालको जनसंख्या तीन करोड र ७० लाख घरपरिवार भएको प्रारम्भिक अनुमान गरेको छ ।

केन्द्रीय तथ्यांक विभाग र आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्रेष्ठले कोरोना महामारीको अनिश्चितता रहिरहेको अवस्थामा पनि विभागले सहजतापूर्वक राष्ट्रिय जनगणना सम्पन्न गर्ने तयारी गरेको बताए । कोरोना महामारीकै बीचमा पनि विभागले पाइलट जनगणना गरिसकेको उनको भनाइ छ । उनका अनुसार तयारी स्वरुप आगामी माघदेखि मास्टर ट्रेनरहरुका लागि तालिम दिन सुरु गरिन्छ । त्यसैगरी चैत महिनादेखि ४ महिनाका लागि सबै प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरिनेछ । विगतमा गणकका रुपमा शिक्षकहरुलाई प्रयोग गरिँदै आएको भएपनि यसपटक भने खुला विज्ञापनमार्फत गणकहरु छनोट गरिने उनले बताए ।

राष्ट्रिय जनगणनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि राष्ट्रिय जनगणना निर्देशन समिति स्थापना गरिनेछ । साथै राष्ट्रिय जनगणना समन्वय समिति, राष्ट्रिय जनगणना प्राविधिक समिति र राष्ट्रिय जनगणनाका अन्य विषयगत समितिहरु पनि रहनेछन् । जनगणनाको समयमा ४ महिनाका लागि विभिन्न स्थानमा कार्यालय स्थापना हुन्छ । जसमध्ये केन्द्रसँगै सातवटै प्रदेश, सबै जिल्ला र सबै स्थानीय तह र वडा कार्यालयमा समेत जनगणना समन्य समिति स्थापना हुनेछ । कार्यक्रममा बोल्दै योजना आयोगका सह सचिव सुमनराज अर्यालले हाल जनगणनाका शासकीय पक्षका बारेमा छलफल भइरहेको बताए ।

आगामी राष्ट्रिय जनगणनामा सही र विस्तृत तथ्यांक संकलनका लागि तीनवटा प्रश्नावली तयार पारिएको छ । जसमा पहिलो प्रश्नावलीमा मूल घरानाको तथ्यांक संकलन गरिन्छ । यसमा २५ वटा प्रश्न हुन्छन् । त्यसबाहेक मुख्य प्रश्नावलीमा ५५ वटा प्रश्नहरु हुनेछन् । यो जेठ २५ गतेदेखि तथ्यांक संकलनमा प्रयोग गरिनेछ । यसमा सामूहिक प्रश्नावलीको प्रयोग गरिनेछ । मुख्य प्रश्नावलीमा प्रत्यक्षरुपमा परिवारले उपभोग गरेका सुविधा, खानोपानी बत्ती, मोबाइल, सवारी साधन, महिलाका नाममा भएका जग्गा र घर, साना घरका व्यवसायलगायतको पनि विस्तृत तथ्यांक संकलन गरिनेछ ।

त्यसैगरी सरकारी निकायमा दर्ता नभएकाहरुको विस्तृत विवरण, विदेशमा रहेका परिवारका अनुपस्थित सदस्यहरुको पनि तथ्यांक संकलन गरिनेछ । जसमा कुन व्यक्तिले के काम गर्छन ? कस्तो काम गर्छन् ? उनीहरुले काम गर्ने ठाउँमाबाट कस्तो उत्पादन हुन्छलगायतका तथ्यांकहरु संकलन गरिने महानिर्देक श्रेष्ठले जानकारी दिए । सामूदायिक प्रश्नावलीमा वडास्तरमा हुनेछ । यसमा पनि हाउसहोल्डबाट प्राप्त भएका तथ्यांकलाई भेरिफाइ गर्ने काम हुन्छ । जसबाट वडा स्तरमा राजस्व संकलनको स्रोतको तथ्यांक, कृषिजन्य उत्पादन र निकासी तथ्यांक, वडास्तरको आम्दानीको स्रोतबारे विवरण लिइनेछ ।

नेपालमा सबैभन्दा पहिले सन् १९६८ मा चन्द्र शमशेर प्रधानमन्त्री हुँदा जनगणना गरिएको थियो । यो प्रत्येक १० वर्षमा गरिन्छ । तत्कालीन समयमा ५६ लाख मानिसहरु थिए । तर हालको २०७८ सालको जनगणना संघीय संरचनामा आधारित रहेन गरिने भएकाले यसमा संख्या मात्रै नभए निश्चित भूगोल, समयमा बसोबास गर्ने मानिसहरुको संख्या र विशेषताको समेत तथ्यांक संकलन गरिन्छ । खासगरी आगामी जनगणनामा सामाजिक, भाषा, धर्म, जात, लिंग, वातावरणीय, जग्गा जमिनको विवरण संकलन गरिनेछ । त्यसका साथै आर्थिक विवरण, शैक्षिक योग्याता, स्वास्थ्यसम्बन्धी तथ्यांक संकलन गरिनेछ । साथै सेवा सुविधामाथिको व्यक्तिहरुको पहुँच कस्तो छ भन्ने विषयमा पनि स्पष्ट रुपमा विस्तृत विवरण संकलन गरिनेछ ।

जनगणनाको तथ्यांक विशेषगरी निर्वाचन क्षेत्र निर्धारण गर्न, प्रतिनिधि र राष्ट्रियसभाको सदस्य, समानुपातिक, केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा स्रोत परिचालन गर्न र योजना तर्जुमा गर्न, सामाजिक आर्थिक अवस्थाबारे जानकारी लिन, लक्षित समूह पहिचान गरी उनीहरुको हितका लागि राहत कार्यक्रम सञ्चालन गर्न आवश्यक हुन्छ । साथै सामाजिक, आर्थिक हिसाब पनि जनगणनाको तथ्यांक आवश्यक पर्छ । जस्तैः जीडीपी, प्रतिव्यक्ति आय निकाल्न पनि यो प्रयोग हुन्छ । यसपटकको राष्ट्रिय जनगणनामा ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नारा तय गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्