Techie IT
आईतबार, असोज ११,२०७७

चार खर्ब एक अर्ब तीन करोड रुपैयाँबराबरको भारु खरिद


काठमाडौं, साउन २७
नेपाल राष्ट्र बैंकले दुई खर्ब १९ अर्ब रुपैयाँबराबरको तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्मको अवधिमा उक्त परिमाणमा तरलता प्रवाह गरिएको हो । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी राष्ट्र बैंकको पछिल्लो ११ महिनाको प्रतिवेदनअनुसार यस अवधिमा रिपोमार्फत एक खर्ब १५ अर्ब ८७ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत एक खर्ब तीन अर्ब २८ करोड रुपैयाँ समेत गरी कुुल दुुई खर्ब १९ अर्ब १५ करोड रुपैयाँ तरलता प्रवाह गरिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत एक खर्ब ४१ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत एक खर्ब ४६ अर्ब २८ करोड गरी कुल दुुई खर्ब ८७ अर्ब ५७ करोड तरलता प्रवाह भएको थियो । आर्थिक वर्ष २०७६/०७७ को ११ महिनामा खुला बजार कारोबारमार्फत कुल ७८ अर्ब तरलता प्रशोचन गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर तीन अर्ब ५९ करोड खुद खरिद गरी चार खर्ब १७ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुुई अर्ब ९२ करोड खुद खरिद गरी तीन खर्ब ३० अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ४८ करोड बिक्री गरी चार खर्ब एक अर्ब तीन करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ९० करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी चार खर्ब ७८ अर्ब १४ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो । उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७७ जेठ मसान्तमा ११ अर्ब ८२ करोड लगानीमा रहेको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा नौ अर्ब ९९ करोड र निर्यात पुनर्कर्जा २२ करोड दुुई लाख उपयोग भएको छ ।

भूकम्पपीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७७ जेठ मसान्तमा एक अर्ब ६१ करोड रहेको छ । राष्ट्र बैंकका अनुसार २०७७ जेठ मसान्तसम्ममा कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २३ हजार तीन सय १८ ऋणीको ५१ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत पाँच हजार आठ सय ३९ ऋणीको चार अर्ब सात करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्