Techie IT
आईतबार, असोज ११,२०७७

कोरोना भाइरस: के विश्वले महामारी विरुद्धको युद्ध जित्दैछ त?


काठमाडौं,२६ साउन

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले नयाँ प्रकृतिको भाइरसका कारण विश्वव्यापी महामारी फैलिएको घोषणा गरेको छ महिनाभन्दा केही बढी समय भएको छ।

ज्यानुअरी महिनाको अन्त्यको संसारभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १०,००० पुगेको थियो र २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको थियो। तीमध्ये कोही पनि बिरामीहरू चीन बाहिरका थिएनन्।

त्यो बेलादेखि संसार र हाम्रो जिन्दगी नै पूर्ण रूपमा परिवर्तित हुन पुगेको छ। मानवजाति र कोरोनाभाइरसबीचको यो युद्धको पछिल्लो अवस्था कस्तो छ त?

समग्र पृथ्वीलाई लिएर हेर्ने हो भने दृश्य सुन्दर देखिँदैन।

एक करोड नब्बे लाखभन्दा बढी मानिसहरूमा सङ्क्रमण पुष्टि भइसकेको छ र सात लाखभन्दा बढीको ज्यान गइसकेको छ।

महामारीको सुरुको चरणमा १००,००० सङ्क्रमण पुष्टि हुन हप्तौँ लाग्ने गर्थ्यो भने अहिले केही घण्टामा नै त्यति मानिसहरूमा सङ्क्रमण फेला पर्न थालेको छ।

‘बढ्दो अनि गम्भीर’

डब्ल्यूएचओकी डा. मारगरेट ह्यारिस भन्छिन्,”हामी अझै पनि झन् बढ्दो क्रममा रहेको, गहन र गम्भीर, महामारीको मध्यमा नै छौँ।”

“यो संसारको प्रत्येक समुदायमा पुगेको छ।”

यो एउटा महामारी हो तर यसको कथा एउटै छैन। कोभिड-१९ को प्रभाव संसारका विभिन्न स्थानमा फरक-फरक परेको छ।

ब्रजिल

तर यो भाइरसको साझा चरित्र छ जसले संसारको सबै ठाउँका मानिसहरूलाई असर गरेको छ। जति जति मानिसहरू एकआपसका नजिक आएर जमघट गर्छन् त्यति नै यो भाइरस फैलिन्छ।

यो अवस्था अहिले पनि उही हो जुन बेला यो भाइरस चीनमा पहिलोपल्ट देखा परेको थियो।

यो भाइरस अहिले ल्याटिन अमेरिका ठूलो मात्रामा फैलिरहेको छ र यसको सङ्क्रमणदर भारतमा पनि चर्किरहेको छ।

जहाँ जहाँ यो भाइरसको विस्तारलाई रोक्न सकिएको छ त्यहाँ एकजना मानिसबाट अर्कोमा सर्ने यसको क्षमतामा रोक लगाएर मात्र त्यसो गर्न सम्भव भएको देखिएको छ।

धेरैको ध्यान न्यूजील्याण्डमा केन्द्रित छ।

तिनीहरूले महामारीको सुरुआतको चरणमा नै आवश्यक सुरक्षात्मक कदम चाले, जुन बेला देशमा थोरै मात्र सङ्क्रमितहरू रहेका थिए।

लकडाउन गरियो, देशको सीमा बन्द गरियो। त्यहाँ १०० दिनयता नयाँ सङ्क्रमित भेटिएका छैनन्।

मंगोलिया

तस्बिरको क्याप्शन,मंगोलियमा अझै पनि थुप्रै मानिसहरू टेन्टमा बस्छन्

आधारभूत उपायमा सफलता

आधारभूत कुराहरू नै पनि प्रभावकारी रूपमा लागु गर्दा सापेक्षित रूपमा गरिब देशहरूले पनि भाइरस विरुद्धको युद्धमा सफलता पाएका छन्।

मंगोलियाको चीनसँग सबैभन्दा लामो सीमाना छ। उक्त देश सजिलै महामारीको नराम्रो चपेटामा पर्न सक्थ्यो।

तर त्यहाँ जुलाइ महिनाको अन्त्यसम्ममा पनि आईसीयूमा उपचार गर्नु पर्ने गम्भीर समस्या परेको एकजना पनि कोरोनाभाइरस सङ्क्रमित थिएनन्।

तिनीहरूले आफूसँग भएको सीमित स्रोत साधनको प्रयोग गरेर उच्चतम प्रतिफल हासिल गरेका लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपीकल मेडिसिनका प्राध्यापक डेबिड हेमन बताउँछन्।

मंगोलियामा एकदमै छिटो विद्यालयहरू बन्द गरिए, अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाइयो र तिनीहरूले नाकमुख ढाक्ने मास्क लगाउने र हात धुने व्यवहारलाई सुरुको चरणमा नै अपनाए।

नक्सा

तर अर्को तर्फ ‘राजनीतिक नेतृत्वदायी भूमिकाको अभाव’ ले अन्य देशहरूलाई नराम्रो अवस्थामा पुर्याएको प्राध्यापक हेमन तर्क गर्छन्।

ती देशमा जनस्वास्थ्य मामिलाका अगुवाहरू र राजनीतिक नेताहरूबीच एकआपसमा सम्वाद गर्न समेत गाह्रो मानिएको अवस्था देखियो।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र देशका वरिष्ठ सङ्क्रामक रोग विज्ञ एन्थनी फाउचीबीच महामारीसम्बन्धी जरूरी विषयहरूमा सहमति नरहेको स्पष्टै छ।

ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारुले कोरोनाभाइरसलाई ‘सानोतिनो रूघा ज्वरो’ भनेर ‘लकडाउन’ विरुद्धका र्यालीहरूमा सहभागीता नै जनाएका थिए र यो महामारी मार्च महिनामा नै निमिट्यान्न हुने बताएका थिए।

ब्रजिलमा २८ लाख भन्दा बढी मानिसहरू सङ्क्रमित छन् भने एकलाखभन्दा बढीको कोभिड- १९ का कारण ज्यान गैसकेको छ।

विगतको सफलता र भविष्यको सङ्केत

तर पीडादायी र समाजलाई नै सकसपूर्ण अवस्थामा पुर्याएर भएपनि भारइसको विस्तार रोक्न सफल केही देशहरूले यो अझै निर्मूल नभएको र स्थितिलाई खुकुलो पारे यो भाइरस फेरि फैलिन सक्ने अवस्थामा आफूलाई पाएका छन्।

अस्ट्रेलिया, स्पेन, फ्रान्स, ग्रीस र जर्मनी यस्तो अवस्थामा देखिन्छन्।

नाकमुख ढाक्ने मास्क लगाउने व्यवहारलाई संशयकासाथ हेरिने युरोप लगायतका स्थानमा अब यो सामान्यजस्तै हुन थालेको छ।

भारतमा अहिले दैनिक सबैभन्दा धेरै सङ्क्रमित भइरहेका छन्

तस्बिरको क्याप्शन,भारतमा अहिले दैनिक सबैभन्दा धेरै सङ्क्रमित भइरहेका छन्

र सबैलाई नै चेतावनी हुने गरी टड्कारो रूपमा देखिएको एउटा तथ्य के हो भने भारइस विरूद्धमा हासिल विगतको सफलताले भविष्यमा पनि निरन्तरता पाउँछ भन्ने कुनै ग्यारेन्टी छैन।

ह‍ङ्‌कङलाई भाइरसको पहिलो लहर सफलतापूर्वक सामना गरेको भनेर प्रशंसा गर्ने गरिन्थ्यो। तर अब त्यहाँ पनि सार्वजनिक मदिरालय र व्यायापशालाहरू फेरि बन्द गरिएका छन्।

अब यस्को अन्त्य कहिले होला?

कोभिड -१९ विरुद्ध विभिन्न औषधिहरू प्रयोगमा ल्याएको छ।

एकप्रकारको सस्तो मूल्यको स्टेरोइड औषधि डेक्सामेथासोनले खराब अवस्थामा पुगेका केही बिरामीलाई राम्रो गरेको देखिएको छ।

तर त्यो कोभिड-१९ का सबै विरामीलाई मर्नबाट जोगाउन अथवा हाल लागु प्रतिबन्धहरू हटाउने अवस्थाका लागि पर्याप्त छैन।

आगामी दिनमा स्वीडेन देशलाई धेरैले नजिकबाट नियाल्नेछन् र त्यहाँ अपनाइएको भाइरस विरुद्धको रणनीतिले दीर्घकालीन रूपमा प्रतिफल देला की नदेला भनेर विचार गरिनेछ।

त्यहाँ ‘लकडाउन’ लागु गरिएन र वृद्ध हेरचार केन्द्रहरूमा रहेकाहरूलाई जोगाउन नसकेका कारण हालसम्म त्यहाँ अन्य छिमेकी मुलुकको दाँजोमा मृत्युदर चर्को देखिएको छ।

जनजीवन पहिलेको जस्तै सामान्य अवस्थामा फर्काउने मानिसहरूको आशा कोरोनाभाइरस विरुद्धको प्रभावकारी खोप अर्थात भ्याक्सिन फेला पर्ने विश्वासमा अडेको छ।

भ्याक्सिन

हाल चिकित्सकीय परीक्षणको अन्तिम चरणमा छ थरी भ्याक्सिनहरू प्रवेश गरेका छन्।

यो यस्तो संवेदनशील चरण हो जुन क्रममा कुनै पनि भ्याक्सिन पहिले सम्भावना देखिए जसरी नै वास्तवमा प्रभावकारी हुन्छ की हुँदैन भन्ने निर्क्योल हुन्छ।

विगतमा पनि यो अन्तिम चरणमा नै आएर कतिपय औषधिहरू असफल भएका छन्।

स्वास्थ्य अधिकारीहरू भन्छन् अझै पनि जोड भनेको कुनै भ्याक्सिन फेला पर्छ की पर्दैन भन्नेमा नै हुनुपर्छ, त्यस्तो भ्याक्सिन कहिले तयार हुन्छ भन्नेमा होइन।

डब्ल्यूएचओकी डा. ह्यारिस भन्छिन्,”मानिसहरू हलिवुड चलचित्रमा जस्तै तुरुन्तै कुनै भ्याक्सिन फेला पर्छ कि भन्ने विश्वासमा छन्।”

“त्यो दुई घण्टे चलचित्रमा समाधान छिटै फेला पर्छ। तर वैज्ञानिकहरू चलचित्रका नायक होइनन्। उनीहरू आफूले आफैलाई इन्जेक्शन लगाएर अब हामी सब जोगिनेछौँ भन्न सक्दैनन्।”(वीवीसी नेपाली सेवा बाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्