कोरोनाका कारण विदेशमा एक सय ९१ नेपालीको मृत्यु

काठमाडौं, साउन २६
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा मात्र एक सय ९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप दुई जनाको कोरोनाका कारणले निधन भएको छ । शनिबार साँझसम्म विदेशमा मात्रै एक सय ९१ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली संघले जनाएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीहरुमा थप नयाँ संक्रमण देखिएको छ । संघका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतका देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ ।
यो साता अष्ट्रेलिया रहेका एक सय ४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ । समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन् ।
संघका अनुसार लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा छन् । लग्जेम्बर्गमा थप संक्रमण देखिएको छैन । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेन, भारत, साउथ अफ्रिकालगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्