Techie IT
शुक्रबार, कात्तिक १४,२०७७

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं,साउन २६

काठमाडौंको चन्द्रागिरी नगरपालिका-६ महादेब स्थान बस्ने २८ वर्षीय बिजय गिरीको घरबाट नियन्त्रित लागूऔषध ७८ एम्पुल डाईजेल्याब, ३० एम्पुल डाईजेपाम, ४३ एम्पुल नोर्फिन र ४३ एम्पुल प्रोमेथाजिन आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

सोही नगरपालिका-८ स्थित मातातिर्थ बसपार्कमा प्रहरीलाई देख्नासाथ गिरीले चलाई ल्याएको बा।५७ प ३६०१ नम्बरको स्कुटर छाडी भागेपछि उक्त स्कुटरको डिकी भित्र १८ थान सिरीन्ज, १ एम्पुल नोर्फिन, १ एम्पुल डाइजेपाम र १ एम्पुल प्रोमेथाजिन फेला पारेको थियो । साथै घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले गिरीको घर तलासी गर्दा थप उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार रहेका बिजय गिरीको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै गरेर कास्कीको पोखरा महानगरपालिका-११ बाट करिब १ केजि २ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ सिद्धलेख गाउँपालिका घर भएका २३ वर्षीय रोहित घले लगायत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले आफ्नो कोठामा अवैध लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी पोखरा महानगरपालिका-४ पराजुली मार्गबाट करिब १ केजि ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित तनहुँ घर भएका २४ वर्षीय किसान थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । थापाले आफ्नो कोठामा अवैध लागूऔषध गाँजा बेचबिखन गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै सिराहाको गोलबजार नगरपालिका-६ दोहटीयाबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने सेतो पदार्थसहित सोही ठाउँ बस्ने २८ वर्षीय पाण्डव गुप्ता लगायत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 गुप्ताले आफ्नै घरबाट लागूऔषध बिक्री बितरण गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्