Techie IT
बिहीबार, कात्तिक ६,२०७७

रोल्पाको लेकमा रमाउँदै भेडी गोठाला


काठमाडौं,साउन २६

रोल्पा नगरपालिका–९ चोयबाङ निवासी मइमन पुन विगत सात वर्षदेखि भेडी गोठालो छन्। वर्षले ५१ पुगेका पुनको दैनिकी करीब ५०० भेडा र बाख्राको हेरचाहमै बित्छ । उनि घरदेखि करीब तीन हजार ५०० फिट अग्लो रानीवास भन्ने लेकमा भेडाबाख्रासँगै रमाइरहेको देखिन्छन् ।

सुनसान अग्लो, लेकको जङ्गलमा सानो छाप्रा बनाई भेडा र बाख्रासँगै दैनिकी काटिरहेका पुनले सुरक्षाका लागि चार वटा भोटे कुकुरसमेत पालेका छन् । आधुनिक तरिकाले भेडा र बाख्रा पालन नगरिएकाले उनलाई कहिलेकाहीँ चरिचरनको समस्या पर्ने गर्छ । “सधैँ एकै ठाउँमा भेडाबाख्रा राख्दा चरिचरनमा घाँस सकिने भएकाले अग्ला–अग्ला लेकहरु रानीवास, धरमपानीलगायत आसपासका लेकहरूमा चरनका लागि लैजान्छु”, पुनले भने ।

यसरी जङगल क्षेत्रमा बास सार्दा विभिन्न समयमा भेडा, बाख्रा र च्याङग्रा हराउने गरेको उनले दुःखेसो पोखे । पुनले पालेका भेडा र बोका पूजाका लागि डोल्पा, रुकुम, सल्यान, दाङ, प्युठान, बुटवल, नेपालगञ्जलगायतका स्थानमा लैजाने गरिएको बताए । एउटा भेडालाई रु चार हजारदेखि आठ हजारसम्म र च्याङग्रा खसीलाई रु ४२ हजारसम्ममा विक्री गर्ने गरेको उनको भनाइ छ । यसरी वार्षिक रु १० लाखसम्म आम्दानी गर्ने गरेको पुनले बताए ।

अर्का काले रोका पनि त्यहीँ भेडी गोठालोमै व्यस्त रहेका छन् । बिहान उठ्यो, भेडाबाख्राको स्याहार गर्यो, बर्सातको समय, चारैतिर कुहिरोले ढाकेको अग्लो पहाडी भूभाग, नजिक कतै घरगोठ छैन । सुनसान वातावरण, चराचुरुङ्गीको आवाज, सर्प र जुकाको त्रासमा दिनचर्या बिताउनु कम्तीको पीडा छैन तर यस्तै जीवन व्यतित गरिरहेका रोका हेर्दा खुशी देखिन्छन् ।

वैदेशिक रोजगारमा गएर अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै देश, आफ्नै गाउँठाउँको पाखा पखेरीमा यसरी भेडा पालन गर्दा आनन्द महसुस भइरहेको रोकाले बताए । विदेशमा गएर अरुको भनाइ खानुभन्दा आफ्नै ठाउँमा स्वतन्त्ररूपमा पेशा गर्न पाएकोमा गर्व गर्छन्, रोका । “दुःख केही लाग्दैन, बानी भइसक्यो, एक्लै आनन्दले पेशा गर्यो, मेहनतअनुसार दुई÷चार पैसा कमाइ भइहाल्छ”, रोकाले भने।

रोका र पुन त प्रतिनिधि पात्र मात्रै हुन् । उनिहरू जस्तै ग्रामीण भेगका केही घरपरिवार लेकमा भेडा, बाख्रा, च्याङग्रा पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । भेडा, बाख्रा र च्याङग्राको रौँबाट विभिन्न वस्तुहरु उत्पादन गर्न सकिन्छ ।

भेडाको ऊनबाट कम्बल, पटुका, कोटलगायत न्यानोका लागि विभिन्न वस्तुहरु तयार पार्न सकिने ८० वर्षीया मतिकला केसीले बताइन् । “ऊनबाट तयार गरिएको कम्बल, पटुका निकै न्यानो हुन्छ, चिसोबाट शरीरलाई बचाउन यसले खुबै राम्रो काम गर्छ”, केसीले थपिन् । पूजापाठ गर्दासमेत भेडाको ऊनबाट बनेको कम्बलमा बसेर पूजा गर्ने चलन रहेको केसीको भनाइ छ । भेडाको ऊनबाट निर्मित कम्बल बजारमा रु चार हजारसम्म बिक्री हुने गरेको उनले बताइन् ।

रोल्पाका करिब ४० हजार युवा भारतलगायत वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने गरेका छन् । विश्वभर फैलिएको कोरोना कहरका कारण भारतबाट हालसम्म दुई हजार १८१ जना घर फर्किसकेका छन् । वैदेशिक रोजगारका लागि तेस्रो मुलुक पुगेका १७८ जना जिल्लामा फर्किसकेका छन ।

प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण रोल्पामा पुन र रोका जस्तै व्यावसायिक रूपमा भेडाबाख्रा पालन गरेर मनग्य आम्दानी गर्न सकिन्छ । अधिकांश कृषि तथा पशुपालन गर्ने रोल्पालीलाई स्थानीय सरकारले समय सुहाउँदो प्रविधि, सीप र क्षमता अभिवृद्धि गरी पेशालाई आधुनिकीकरण गर्न सके स्वदेशमै स्वरोजगारको ढोका खुल्ने स्थानीय समाजसेवी कृष्णबहादुर घर्ती बताउछन् ।

झट्ट हेर्दा आर्थिक आम्दानी धेरै हुने देखिए पनि मेहनत धेरै गर्नुपर्ने, जङ्गल क्षेत्रमा बस्नुपर्ने भएकाले यस पेशालाई युवा पुस्ताले भने रुचाउने गरेका छैनन् । बाउबाजेले पेशालाई निरन्तरता दिए पनि अहिलेको बदलिँदो समयमा आएको नयाँ प्रविधिका कारण युवा पुस्ताले यो पेशालाई खासै अँगालेको देखिँदैन । तीनै तहका सरकारले यहाँको पशुपालनलाई आधुनिकीकरण गर्न जरुरी रहेको स्थानीय अगुवाहरुको भनाइ छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्