Techie IT
१८ माघ २०७९, बुधबार

प्रज्ञाको पुस्तक प्रदर्शनीको म्याद पाँच दिन थप


काठमडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले ३०१औँ पृथ्वीजयन्तीका अवसरमा आयोजना गरेको पुस्तक प्रदर्शनीमा पाठकको रुचि बढेपछि पाँच दिन थप गरिने भएको छ । पठन संस्कृतिको विकासका लागि प्रतिष्ठानको भानुभक्त कक्षमा गत पुस २६ गतेदेखि पुस्तक प्रदर्शनी भइरहेको छ ।

कुल १५ दिनका लागि तय गरिएको प्रदर्शनीको अवधि बुधबार सकिन लागेकामा १६ गते शहीद दिवससम्म समय थप गरिएको हो । प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को पुस महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । प्रदर्शनीमा रू. तीनदेखि रू. दुई हजार ७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब ५०० भन्दा बढी प्रकारका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ । नेपाली वृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको उनले जानकारी दिए ।

माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रू. तीनदेखि नेपाली वृहत् शब्दकोशको रू एक हजार आठ सय ९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उनले बताए। प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । प्रज्ञाले वर्षमा कम्तीमा तीन पटक–पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।

प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको छ । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । पुस्तक प्रदर्शनीका क्रममा दैनिक रू. २० हजार बराबरको पुस्तक बिक्री हुने गरेको समेत व्यवस्थापक ढुङ्गेलले राससलाई बताए । प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत् सातै प्रदेशमा पु-याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ ।

हरेक नेपालीको हातमा प्रज्ञाका पुस्तक पु-याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको हो । यसपटको प्रदर्शनीमा हालै प्रतिष्ठानले प्रकाशन गरेका डा षडानन्द पौडेलले लेखेको ‘नेपाली आख्यानमा अमूर्त संस्कृति’, प्राडा हेमनाथ पौडेलको ‘रमेश विकलका प्रतिनिधि कथा’, निनु चापागाइँको ‘रचना विविध’, अनुवादक र सम्पादक राजेश्वर नेपाली रहेको ‘सोमली र सुहागिन’, अनुवादक र सम्पादक हरिहर खनाल रहेको ‘ओभरकोट र अरु कथाहरु’लगायत पुस्तक राखिएको छ ।

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनका पुस्तक पनि राखिएको छ । यी प्रकाशनका पुस्तकमा पनि छुट रहेको जनाइएको छ । प्रदर्शनीमा जाडो बिदामा रहेका बालबालिकाको समेत उल्लेख्य सहभागिता छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्