Techie IT
१८ माघ २०७९, बुधबार

विशेष समितिको प्रतिवेदनमाथि छलफल


काठमडौं । राष्ट्रियसभाले सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले पेस गरेको उक्त प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उनले भने, “प्रतिवेदनमा १३ वटा क्षेत्रभित्र रही ९९ वटा विषयमा सिफारिस गरेकामा सबै उत्तिकै महत्वपूर्ण छन् । यो शासन व्यवस्थामा जनताले खोजेको विकास, सुशासन र समृद्धिका मुद्दा सम्बोधन गर्ने विषय समेटिएको छ ।” संविधानको लक्ष्मण रेखाभित्र रही तीन तहका सरकारले निर्वाह गर्नुपर्ने भूमिका र दायित्वलाई कतिपय स्थानमा बेवास्ता गरेको पाइएको बताउँदै संयोजक देवकोटाले प्रदेशका मन्त्रीको सङ्ख्याबारे प्रतिवेदनमा उल्लेख भएअनुरुप पछिल्लो समय कार्यान्वयन भएको बताए ।

यसअघि उक्त प्रस्तावमाथि भएका छलफलमा सदस्यहरुले सङ्घीयतामा शक्ति र स्रोतको बाँडफाँट भन्ने मुख्य विषय भएको बताए । सङ्घीयतामा विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्रका बारेमा प्रतिवेदनमा उल्लेख हुन आवश्यक रहेको बताउँदै उनीहरुले सिंहदरबारको अधिकार गाउँमा पुगेकाले सङ्घीयताको मर्म र भावनाअनुरुप अभ्यासमा लैजानुपर्नेमा जोड दिए ।

राससका अनुसार सदस्य भैरवसुन्दर श्रेष्ठले भने, “नीतिमा कमजोरी भए सच्याउनुपर्छ, कानुनमा कमजोरी छ भने संशोधन वा नयाँ बनाएर अघि बढनुपर्छ ।” अर्का सदस्य कमलादेवी पन्तले सिंहदरबारको अधिकार जनताले केही सुविधा प्राप्त गरेको भए पनि कतिपय भौगोलिक र कानूनी अड्चनले असहजता भने कायमै रहेको धारणा राखे। सदस्य उर्मिला अर्यालले तीन तहका सरकारबीच समन्वय र प्रतिस्पर्धाका आधारमा राष्ट्रहित र जनहितमा सेवा प्रवाह हुन आवश्यक रहेको भनाइ राखिन् ।

सदस्य भगवती न्यौपानेले सङ्घीयताका विषयमा जुन टीक्काटिप्पणी हुँदै आएकामा त्यसलाई अनुसन्धान गरेर समितिले ल्याएको प्रतिवेदनले सबै नेपाली जनतालाई सुसूचित गरेको बताइन् । उनले मुलुक सङ्घीयतामा प्रवेश गरेपछिको अभ्यास र अनुभवका आधारमा स्रोत साधनको सन्तुलित बाँडफाँट र जनतालाई सुशासनको अनुभूति दिलाउनेतर्फ सरकार र सबै राजनीतिक दलको जोडबल हुन आवश्यक रहेकोमा जोड दिइन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्