जिल्ला अस्पताल फाप्लुमा पाठेघरको मुखको क्यान्सर पहिचान सेवा लिने २६ जना
सोलुखुम्बु, साउन २६
सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरको पहिचानमा हालसम्म २६ जनाले सेवा लिएका छन् । जिल्ला अस्पतालले २०७६ साल पुस २२ गतेबाट सञ्चालन गरको पाठेघरको क्यान्सर पहिचान तथा जाँचबाट हालसम्म २६ जनाले मात्रै सेवा लिएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् । ३० वर्षदेखि ६० वर्षसम्मका महिलाहरूलाई लक्षित गरी निःशुक्ल सेवा सुचारु गरेको अस्पतालले जनाएको छ ।
पाठेघरको मुखको क्यान्सर जाचँका लागि महिलाहरू टाढा जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा नै यो व्यवस्था मिलाइएको थियो । आर्थिक स्थिति कमजोर भएका महिलाहरूले रोग पालेर बस्ने भएकाले निःशुल्क सेवा सुचारु गरेको निमित्त प्रमुख शेर्पाले बताइन् । हाल अस्पतालमा उपकरणको अभावका कारण जाँच मात्र गरिँदै आएको छ । प्रदेश सरकारले थप उपकरण पठाउने तयारी गरिरहेकाले सबै उपचार जिल्ला अस्पतालमा नै गरिने जनाइएको छ । टाढा जानुपर्ने अवस्थाको अन्त्य भएसँगै सहज र आर्थिकरूपमा पनि निकै राहत महसुस गरिएको स्थानीय महिला बताउँछन् । पाठेघरको समस्या भएका महिलाई जिल्लाबाहिर जाँदा आर्थिकका साथै भौतिक पीडा पनि बढी हुने महिलाहरूको भनाइ छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्