Techie IT
मंगलबार, मंसीर १६,२०७७

स्थानिय तहहरुमा महिला कर्मचारीहरुको प्रतिनिधित्व अवस्था कमजोर

सात सय ५३ स्थानिय तहहरुमा जम्मा तीन जना प्रमुख प्रशासकीय अधिकृत


पोसकान्त पोखरेल
बुटवल, साउन २६

लामो समय देखि महिलाहरुलाई पनि पुरुष जत्तिकै राज्यका विभिन्न निकायहरुमा स्थानहरु दिनुपर्ने आवाजहरु उठिरहे पनि अझै सम्म त्यो अवस्थाले पूर्णता पाउन सकेको छैन । पछिल्लो समयमा राजनीतिमा दिएको स्थान प्रशंसनीय भएपनि सोही अनुसार अन्य क्षेत्रमा महिलाहरुको उपस्थिती बढाउनु पर्ने आवाजहरु उत्तिकै उठेका छन् । देश संघीय संरचनामा परिणत भई स्थानिय सरकार मार्फत जनताको माँझमा रहेर काम गर्न थालेको तीन बर्ष वितिसक्यो । सात सय ५३ स्थानिय सरकार, सात प्रदेश सरकार र एक संघीय सरकार गरी अहिले नेपालमा सात सय ६१ वटा सरकारहरु बनेका छन् । प्रदेश र संघीय सरकार स्थानिय सरकार भन्दा ठुला सरकार भएपनि स्थानिय सरकार मै महिला कर्मचारीहरुको प्रतिनिधित्वको अवस्था कमजोर देखिएको छ ।

देशभरका सात सय ५३ स्थानिय सरकारमा जम्मा तीन जना महिला कर्मचारीहरु मात्र कार्यालय प्रमुख अर्थात प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । बाँकी सात सय ५० स्थानिय तहहरुमा पुरुष छन् । महिला प्रमुख प्रशासकीय अधिकृत भएका स्थानिय तहहरु मध्ये एक नगरपालिका र दुई गाउँपालिका रहेका छन् । तीन वटा प्रदेशमा तीन जना महिला प्रमुख प्रशासकीय अधिकृत भएका स्थानिय तहहरु मध्ये प्रदेश नं. १ को शिवसताक्षी नगरपालिका झापा, प्रदेश नं. २ को नरहा गाउँपालिका, सिराहा र गण्डकी प्रदेशको नासों गाउँपालिका, मनाङ रहेका छन् ।

२०४४ साल देखि मुखियाबाट निजामति सेवामा प्रवेश गरेकी गीता कुमारी राई प्रदेश नं. १ को शिवसताक्षी गाउँपालिका झापाकी प्रमुख प्रशासकीय अधिकृत हुन । २०७६ फागुनमा उप–सचिवमा बढुवा भएकी राईले सोही बर्षको चैत २६ गतेबाट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी थिईन । लामो समय सम्म गृह मन्त्रालय मातहतका कार्यालयहरुमा कार्यसम्पादन गरेकी राई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सहायक प्रमुख जिल्ला अधिकारीको पदमा रही कार्यसम्पादन समेत गरेकी छन् । स्थानिय तहको पहिलो अनुभवले सुरुका केही दिनहरु कार्यसम्पादनमा केही अन्योलता आएपनि पछिका दिनहरुमा त्यस्तो कुनै समस्या नआएको बताउँछिन । घर बाहेकका बाहिरी जिल्लाहरुमा कार्यसम्पादनको लागि जानु पर्ने बाध्यतात्मक अवस्था महिलाहरुको लागि मुख्य समस्याको रुपमा देखा पर्ने बताउँदै राईले सकेसम्म महिलाहरुलाई घर पायक मिलाएर सरुवा गर्नु पर्ने धारणा राख्दछिन् । अन्य निकायहरुमा काम गर्दा सोही निकायको बारेमा जानकारी हुने बताउँदै राईले स्थानिय तहहरुमा चौतर्फी क्षेत्रका धेरै कुराहरु सिक्न पाईने वातावरण रहेको बताईन ।

२०४६ साल देखि खरिदारबाट निजामती सेवामा प्रवेश गरेकी सुमित्रा लामा प्रदेश नं. २ को नहरा गाउँपालिका सिराहामा प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत छन् । २०७६ बैशाख देखि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेकी लामा नरहा गाउँपालिकामा आउनु पूर्व दश महिना अर्नमा गाउँपालिका सिराहामै प्रमुख प्रशासकीय अधिकृत भई कार्यसम्पादन गरेकी थिईन । नहरा गाउँपालिकाको स्थानिय सरकारको आग्रहमा सरुवा भई आएकी लामा ३० बर्ष भन्दा बढी जिल्ला जनस्वास्थ्य कार्यालय बिरगंजमा कार्यरत रहेकी थिईन । २०६७ सालमा अधिकृतमा बढुवा भएकी लामाले स्थानिय तहमा कार्यसम्पादनको नयाँ अनुभव भएपनि स्थानिय तहमा कार्यरत अनुभवी कर्मचारीहरुको सहयोगले धेरै कुरा जान्ने अवसर प्राप्त गरेको बताईन । कार्यसम्पादनको लागि सबैभन्दा गाह्रो स्थानिय तह हुने कुरा कर्मचारी साथीहरुबाट सुनेको बताउँदै लामाले बुझ्दै जाँदा स्थानिय तहमा जति काम गर्न रमाईलो अन्यत्र नहुने धारणा राख्दछिन् । कानूनले अधिकार दिएका क्षेत्रहरुमा काम गर्दा कुनै समस्या नहुने बताउँदै लामाले समस्या सँग लड्दै समाधान खोज्नु नै सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताईन ।

धनकुटामा स्थायी घर भएपनि दुर्गम क्षेत्र रोजेर मनाङ पुगेकी सारदा भण्डारी गण्डकी प्रदेशको नासोँ गाउँपालिका मनाङकी प्रमुख प्रशासकीय अधिकृत हुन । २०६६ चैत महिना देखि अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी भण्डारीले २०७६ फागुनबाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी हुन । निजामती सेवा प्रवेशको सुरुवाती समयमा सामान्य प्रशासन मन्त्रालयमा कार्यसम्पादन गरेकी भण्डारीले शिक्षा विभाग सानोठिमी भक्तपुर पनि केही समय कार्यसम्पादन अनुभव संगालेकी छन् । स्थानिय तहहरु आफैमा एक सरकार भएकोले कार्यसम्पादनमा केही चुनौतीहरु देखिएपनि चुनौतीलाई निभाएर अगाडी बढ्नु पर्ने धारणा राख्ने भण्डारी स्थानिय सरकारहरु समृद्ध नेपाल निर्माणका प्रमुख आधारहरु भएको बताईन । संघीयता कार्यान्वयनको सुरुवाती चरणको तेश्रो बर्ष पुगेपनि अझै धेरै जनप्रतिनिधीहरुलाई नीति, नियम र कानूनी प्रक्रियाको बारेमा पूर्ण ज्ञान नभएको बताउँदै भण्डारीले एक पटक बुझाएपछि जनप्रतिनिधीहरु पनि कानूनले अधिकार दिए अनुसार नै समन्वय गरेर कार्यसम्पादन गर्ने गरेको बताउँछिन् ।

अधिराज्य भरका सात सय ५३ स्थानिय तहमा महिला प्रमुख प्रशासकीय अधिकृतहरुको संख्या कम भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महिलाहरुलाई विशेष प्राथमिकता दिंदै सूचना प्रकाशित गरेको छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ दफा ८४ (४) बमोजिम स्थानिय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था रहेकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हाल रिक्त रहेका तथा हेरफेर गर्नु पर्ने स्थानिय तहहरुमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन भैरहेको र हाल सात सय ५३ स्थानिय तहहरुमा तीन जना मात्र महिला प्रमुख प्रशासकीय अधिकृत रहेकोले स्थानिय तहको प्रशासनिक नेतृत्वमा महिला महिला वर्गहरुको समेत सहभागिता आवश्यक भएकोले संघमा समायोजन भएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समुहका शाखा अधिकृत तथा उपसचिव पदमा कार्यरत ईच्छुक महिला कर्मचारीहरुले प्राथमिकताका आधारमा आफूले जान चाहेको स्थानिय तहको जिल्ला छनौट गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिन सूचना प्रकाशित गरे सँगै सम्बन्धित क्षेत्रका महिला कर्मचारीहरुलाई धेरै सहज अवस्थाको सृजना हुने महिला कर्मचारीहरुको बुझाई छ । अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकबाट


क्याटेगोरी : समाचार
ट्याग : #samachar

तपाईको कमेन्ट लेख्नुहोस्