Techie IT
शुक्रबार, कात्तिक १४,२०७७

भिसाका म्याद सकिएको र आममाफी पाएका सात लाख फर्किने


काठमाडौं, साउन २५
कोभिड १९ का कारण वैदेशिक रोजगारीको क्रममा सातवटा मुलुकमा रहेका चार लाख सात हजार जना युवाहरु फर्किने अनुमान गरिएको छ । कोभिडका कारण वैदेशिक रोजगारको क्रममा मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र ओमानमा रहेका युवाहरु फर्किन चाहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कोभिडका कारण फर्किन चाहने युवाहरुमध्ये भिसाको म्याद सकिएको र आममाफी पाएका युवाहरु तत्काल फर्किन चाहने अनुमान गरिएको छ । गन्तव्य मुलुकहरुमध्ये सबैभन्दा बढी कतारबाट एक लाख ४५ हजार जना, साउदी अरबबाट एक लाख २० हजार जना, युएईबाट ६७ हजार जना, मलेसियाबाट ३७ हजार जना, कुवेतबाट २४ हजार, बहराइनबाट १० हजार पाँच सय जना र ओमानबाट तीन हजार पाँच सय जना युवाहरु फर्किने अनुमान गरिएको छ ।

यसैबीच भिसाको म्याद सकिएको र आममाफीका कारण तत्काल फर्किने अनुमानित संख्या एक लाख २७ हजार जना र कोभिडका कारण रोजगारी गुमाएर फर्किनसक्ने अनुमानित संख्या दुई लाख ८० हजार जना रहेको छ भने ती मुलुकहरुमा १३ लाख ४८ हजार आठ सय जना नेपाली कामदारहरु काम गर्दै आएका छन् । मन्त्रालयले गरेको कोभिड महामारीबाट वैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई पर्नसक्ने प्रभाव र समस्या समाधानका लागि अपनाउनुपर्ने रणनीतिक उपायहरु अध्ययन प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार सातवटा मुलुकहरुबाहेक अन्य मुलुकहरुमा पनि नेपाली कामदार कार्यरत भएको हुदाँ नेपाल फर्किनसक्ने युवाहरुको संख्या थप हुनसक्नेछ । यसका अतिरिक्त भारतमा रोजगारी गुमाई फर्किनसक्ने संख्या तथा भिजिट भिसा वा आजाद भिसा आदिमा विदेश गएका काम गरिरहेका, विद्यार्थीलगायत अन्य प्रयोजन विदेशमा रहेका तर कोभिडका कारण स्वदेश फर्किन सक्ने सम्भावित संख्या समेत जोड्ने हो भने उक्त संख्या उल्लेखनीय रुपमा बढ्नसक्ने बताइएको छ ।

४६ हजारको उद्धार : यसैबीच विदेशमा रहेका ५८ वटा मुलुकका ४६ हजार तीन सय १२ जना नेपालीहरुको उद्धार गरिएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बताएको छ । केन्द्रका अनुसार उद्धार गरेकामध्ये वैदेशिक रोजगारीमा गएका र अध्ययनका लागि गएका नेपालीहरुको संख्या बढी छ । खाडी राष्ट्र, युरोप, अमेरिका तथा अफ्रिकामा रहेका नेपालीहरु स्वदेश फर्किएका हुन् जसमध्ये सबैभन्दा धेरै युएईबाट १२ हजार पाँच सय जना, साउदीबाट छ हजार नौ सय जना, मलेसियाबाट छ हजार सात सय जना, कुवेतबाट छ हजार तीन सय जना, कतारबाट चार हजार सात सय जना, अष्ट्रेलियाबाट एक हजार जना, जापानबाट एक हजार जना, अमेरिकाबाट पाँच सय जनाको उद्धार गरिएको छ । त्यसैगरी भारत, स्विट्जरल्याण्ड, पोर्चुगल, नर्वे, जर्मनी, इराक, दक्षिण सुडान, सोमालिया, इथोपियालगायतका मुलुकबाट समेत नेपाली नागरिकहरु स्वदेश फर्किसकेका छन् ।

त्यसैगरी केन्द्रले हालसम्म प्रदेश नं. १ का नौ हजार चार सय १८ जना, प्रदेश नं २ का सात हजार तीन सय ५६ जना, वाग्मती प्रदेशका १२ हजार पाँच सय ७० जना, गण्डकी प्रदेशका पाँच हजार सात सय ८२ जना, प्रदेश नं. ५ का सात हजार चार सय ७९ जना, कर्णाली प्रदेशका एक हजार २६ जना र सुदूरपश्चिम प्रदेशका एक हजार एक सय ६८ जना जनालाई उद्धार गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्