Techie IT
२२ मंसीर २०७९, बिहीबार

कवादी खोलामा साढे तीन करोडमा पक्की पुल


दमौली । तनहुँको व्यास नगरपालिका–९ हुँदै भानुका विभिन्न ठाउँ जाने सर्वसाधारणलाई बर्खामा कवादी खोला तर्न समस्या थियो । हिउँदमा सामान्य रहे पनि बर्खामा कवादी खोलाले रुप परिवर्तन गर्थ्यो ।

सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत कवादीखोलामा पक्की पुल निर्माण भएपछि यस भेगका जनतालाई राहत हुने भएको छ । वि.सं. २०७३ माघमा ठेक्का सुरु भई अलपत्र बनेको पक्की पुल केही दिनअघि मात्रै सम्पन्न भएको हो ।

वि.सं. २०७३ देखि अलपत्र परेको उक्त पुल तनहुँ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कृष्णकुमार श्रेष्ठको सक्रियतामा सम्पन्न भएको हो । उक्त पुलको ठेक्का हिरा एन्ड नमिता कन्स्ट्रक्सनले पाएको थियो । ३१।५ मिटर लम्बाइ र ८।५ मिटर चौडाइ रहेको पुल रु. तीन करोड ५६ लाखको लागतमा सम्पन्न भएको हो । “अलपत्र पुलको काम सम्पन्न गर्न २०७८ साल माघदेखि म आफैं फिल्डमा खटिएको थियो, काम सम्पन्न गराउन पाउँदा खुसी लागेको छ,” पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका श्रेष्ठका स्वकीय सचिव जगत खड्काले राससलाई भने । पुल अलपत्र हुँदा यस भेगका जनताले पटक–पटक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

यस्तै प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँमार्फत चारवटा पक्की पुल निर्माण सम्पन्न भएको छ । आव ०७८/७९ मा रु १६ करोडको लागतमा चारवटा पक्की पुल निर्माण सम्पन्न भएका हुन् ।

विभिन्न मितिमा निर्माण सुरु भएका उक्त पुल आर्थिक वर्ष ०७८/७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयले रिस्तीखोला मोटरेबल पुल सोतीबेंसी, बुडुवाखोला मोटरेबल पुल, फेदीखोला मोटरेबल पुल र रिस्तीखोला मोटरेबल पुल बगुवा निर्माण सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी एवं धनमाया मिश्रले जानकारी दिइन् ।

फेदीखोला मोटरेबल पुल रु. चार करोड २८ लाख ३२ हजार, बुडुवा खोला पुल रु. दुई करोड नौ लाख, रिस्ती बगुवाखोला पुल रु. चार करोड २५ लाख र रिस्ती सोतीबेंसीको पुल रु. चार करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो ।

फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव ८ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीबेँसीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेबल पुल निर्माण भएको मिश्रले जानकारी दिए ।

उक्त आर्थिक वर्षमा सातवटा पुल सम्पन्न गर्ने लक्ष्य राखिए पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीनवटा पुल निर्माण सम्पन्न हुन नसकेको उनले बताए ।

“सातवटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो, तर तीनवटा पुलको काममा ढिलाइ भयो, चारवटा मात्रै सम्पन्न भएको छ”, उनले भने । करिब रु. एघार करोडको लागतमा निर्माण कार्य सम्पन्न हुने तीन पुलहरु अन्तिम चरणमा पुगेको छ । ज्वालाखोला मोटरेबल पुल रु. तीन करोड २१ लाख, द्रोपद खोला मोटरेबल पुल रु. तीन करोड ८३ लाख र बरखोला पुल रु. तीन करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ ।

दसैँका लागि तनहुँमा साढे दुई करोडको खसीबोका बिक्री
तनहुँको घिरिङ गाउँपालिकास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध धना थापाले यो दसैँमा मात्र खसी बेचेर एक लाखभन्दा आम्दानी गरिन् । उनले दसैँका लागि चारवटा खसी बिक्री गरेकी थिइन् ।

बाख्रापालन मुख्य पेसा अङ्गालेकी उनले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएकी छिन् । “खसी बेचेर दसैँ मनाउने तयारीमा छु,” उनले भनिन् ।

भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध कमला आलेले पनि दसैँका बेला एक लाखभन्दा बढीको खसी बिक्री गरिन् । गाउँबाटै खसी बिक्री हुँदा बजार खोज्दै हिँड्नुनपरेको उनले सुनाइन् ।

भिमादस्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध श्रीमाया आले वार्षिक रुपमा रु. १० लाखभन्दा बढीको खसीबोका बिक्री गर्छिन् । यी त केही उदाहरण मात्र हुन् । यस वर्षको दसैँमा खसीबोका बिक्री गरेर तनहुँका महिलाहरुले रु. साढे दुई करोडभन्दा बढी आम्दानी गरेका छन् । तनहुँमा महिलाले मात्र सञ्चालन गरेका सहकारीमार्फत यस वर्षको दसैँमा रु. दुई करोड ५३ लाख २० हजार तीन सय २७ बराबरको खसीबोका बिक्री भएको छ ।

गत भदौ २७ देखि असोज ९ गतेसम्मको अवधिमा यहाँका १० सहकारीमार्फत खसीबोका बिक्री भएको हो । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए ।

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको सस्था सबलीकरण परियोजना’ अन्तर्गत १० सहकारीले कृषकले पालेका खसीबोका बिक्रीका लागि बजारीकरण गर्दै आएको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले जानकारी दिए ।

यसअवधिमा तीन चरणमा गरी खसीबोका बिक्री भएको छ । भदौ २७ गते रु एक करोड १८ लाख ९० हजार तीन सय २६, भदौ २७ देखि असोज २ गतेसम्म ६१ लाख ७१ हजार एक सय २८ र असोज ३ देखि ९ गतेसम्म रु ७२ लाख ५८ हजार आठ सय ७३ बराबरको खसीबोका बिक्री भएको छ ।

घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु. ३० लाख ५४ हजार दुई सय ७१, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत रु. ४४ लाख ९८ हजार छ सय ५४, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत रु. ३९ लाख आठ हजार आठ सय २९, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत रु. २० लाख १९ हजार सात सय २४ बराबरको खसीबोका बिक्री भएको छ ।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु. २२ लाख ९२ हजार छ सय ७६, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु. चार लाख दुई हजार ६७, सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु. २६ लाख ४० हजार तीन सय ५०, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु. २१ लाख ९१ हजार आठ सय ७५, शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत रु. २३ लाख २५ हजार नौ सय ८३ र आधारशिला सामाजिक उद्यमी महिला सहकारीमार्फत रु. १९ लाख ८५ हजार आठ सय ९८ बराबरको खसीबोक्रा बिक्री भएको छ । यस अवधिमा ती सहकारीमार्फत एक हजार सात सय १४ खसी बिक्री भएका छन् ।

भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मुक्तान आलेले दसैँ तिहारका बेला सहकारीले नै व्यापारी खोजेर खसीबोका बिक्री गर्दै आएको बताए । “सहकारीले नै बजारीकरणमा सहयोग गरिदिएपछि कृषकलाई पनि सहज भएको छ,” उनले भने, “यसले गर्दा कृषकले खसी बिक्री गरेर चाडपर्व मनाउन पाएका छन् ।”

घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेले सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई बजारको समस्या नहुने बताए ।

भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पु-याएको बताए । “यसले कृषकलाई खसीबोका बिक्रीका लागि बजार खोज्नु हिँड्नुपरेको छैन, कृषकलाई सहज भएको छ,” उनले भने ।

सहकारीले बजारीकरणमा सहयोग पु-याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ ।

ती सहकारीमा चार हजार भन्दा वढी शेयर सदस्य आबद्ध छन् । घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामा छ सय ७०, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमा आठ सय ५९, माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा छ सय ३५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमा तीन सय ४६ शेयर सदस्य छन् ।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामा चार सय २०, दिदीबहिनी कृषि सहकारी संस्थामा एक सय ८४, सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामा पाँच सय ३९, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमा तीन सय ५२, शुभदीप सामाजिक उद्यमी महिला सहकारीमा दुई सय २७ र आधारशिला सामाजिक उद्यमी महिला सहकारीमा चार सय ३० शेयर सदस्य आबद्ध छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्