Techie IT
आईतबार, मंसीर २१,२०७७

विभिन्न कारणले मृत अवस्थामा फेला


काठमाडौं,साउन २५

झापाको मेचीनगर नगरपालिका-१५ स्थित ज्यामिरगढीको स्कुल हाताभित्र हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

ईलामको रोङ गाउँपालिका-२ झटारे बस्ने ७६ वर्षीया साबित्रा दासे आफ्नै घरको ढोकामा शनिबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।

चितवनको भरतपुर महानगरपालिका-११ भोजाड बस्ने बिक्रम कुमालकी २ वर्षीया छोरी आरुई कुमालको नहरमा डुबेर शनिबार मृत्यु भएको छ । आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा अचानक नजिकैको नहरमा खस्न गई गम्भीर घाइते भएकी उनको सोही ठाउँस्थित पुरानो मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहटको राजदेबी नगरपालिका-७ मुडवल्वा बस्ने रबिन्द्र महतोको ३ वर्षीय छोरा राजन महतोको पानीमा डुबेर शनिबार मृत्यु भएको छ । आफ्नै घर अगाडि बाटो छेउमा खेलिरहेको अवस्थामा बाटो छेउमा वर्षातले जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो ।

बझाङको छबिसपाथीभेरा गाउँपालिका-६ ल्वाडा बस्ने कलक चलौनेको १३ वर्षीया छोरी बेलु चलौनेको खोलाले बगाई शनिबार मृत्यु भएको हो । सोही ठाउँस्थित दल्लेडी मेलाबाट घाँस काटी फर्कदाँ काठेपुल तर्ने क्रममा अचानक खस्न गई खोरीगाड खोलाले बगाएकोमा अन्दाजी २ सय मिटर टाढा उनको शव फेला परेको हो ।

गुल्मीको मदाने गाउँपालिका-१ अग्लुङ बस्ने ३९ वर्षीय कमल भण्डारीको शनिबार बेलुका परेको चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका-८ जगाती चोकस्थित सडकमा बा।१९ च ३३८४ नम्बरको हात्ती गाडी र बा।६६ प २८१० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हात्ती गाडी र चालक रामेछाप सुनापती गाउँपालिका-७ खनिँयापानी घर भई हाल काठमाडौं शंखमुल बस्ने २१ वर्षीय नारायण बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्