Techie IT
१३ असोज २०७९, बिहीबार

राष्ट्रपति भण्डारी संविधान विपरित मार्गमा अघि बढेको शान्ति समाजको ठहर


काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले राष्ट्रपति विद्यादेवी भण्डारी संविधान विपरितको मार्गमा अघि बढेको ठहर गरेको छ । संसदका दुवै सदनबाट पारित भई आएको विधेयकलाई संविधान अनुरुप प्रमाणिकरण गर्नुपर्ने दायित्वबाट राष्ट्रपति विद्यादेवी भण्डारी विमुख हुनु आपत्तिजनक रहेको समाजले जनाएको छ ।

समाजका सभापति गोविन्द खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै संसदका दुवै सदनबाट विधेयक पुनः पारित भइसकेको अवस्थामा राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गर्नु या पदबाट राजीनामा दिनुबाहेक अर्को विकल्प हुन नसक्ने उल्लेख गरिएको छ । संसदीय सर्वोच्चतालाई चुनौती दिँदै विधेयकलाई प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदम संविधान विपरित हुनुका साथै लोकतन्त्र विरोधी रहेको समाजको भनाइ छ ।

राष्ट्रपति भण्डारीको संविधान विरोधी कृत्यको सम्बन्धमा संवैधानिक मर्यादाको सीमाभित्र रहेर न्यायिक हल खोज्न पनि शान्ति समाजले सरकार र जिम्मेवार राजनीति दलहरूलाई आग्रह गरेको छ । राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोध गर्ने नाममा कुनै पनि असंवैधानिक अभ्यास र अराजकतालाई बढावा दिने काम सरकारले गर्न नहुने समाजले सचेत गराएको छ ।

यस्तै समाजले यसै सम्बन्धमा उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति पदको मर्यादा र गरिमा विपरित गरेको टिप्पणीको पनि विरोध गरेको छ । उपराष्ट्रपतिले बुधबार एक विज्ञप्तिमार्फत राष्ट्रपतिको कदमको विरोध गरेका थिए ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्